काठमाडौं : कतारमा हुने फिफा विश्वकप २०२२ को छनोट चरण अन्तर्गत समूह चरणको बाँकी खेलको खेल तालिका सार्वजनिक भएको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले नेपाल सहित एसियाली देशको खेल तालिका सार्जजनिक गरेको हो ।

सन् २०२० मार्चमा हुने तय भएको खेल कोरोना भाइरस संक्रमणका कारण अक्टोबर–नोभेम्बरलाई सारिएको भएपनि स्थिति सुधार नहुँदा एएफसीले खेल स्थगित गरेको थियो । अब नेपालले बाँकी खेल मार्च र जुन महिनामा खेल्ने भएको छ । छनोट अन्तर्गत ५ खेलमा १ जित र ४ हार बेहोरेको नेपालले ३ खेल खेल्न बाँकी छ । अब यी तीन खेलहरु काठमाडौंको दशरथ रंगशालामा हुनेछ ।

एएफसीले नेपाल र चाइनिज ताइपेइको खेल २५ मार्च २०२१ (चैत्र १२ २०७७) को लागि तोकेको छ । नेपालले ३० मार्चमा (चैत्र १७) अष्ट्रेलियासँग खेल्नेछ भने अन्तिम खेलमा नेपालले जोर्डनको सामना गर्नेछ । उक्त खेल ७ जुन २०२१ मा (२४ जेठ २०७८) हुने एएफसीले जनाएको छ ।

नेपालले विश्वकप छनोटमा एकमात्र जित चाइनिज ताइपेइको मैदानमा २–० को जित दर्ता गरेको थियो । उक्त खेलमा दुवै गोल अन्जन विष्टले गरेका थिए । नेपालले पछिल्लो पटक कुवेतविरुद्ध खेलेको थियो । रंगशाला खेल्न योग्य नहुँदा भुटानमा भएको उक्त खेलमा नेपाल १–० ले पराजित भएको थियो । समूह बी मा रहेको नेपाल हाल अंक तालिकाको चौथो स्थानमा छ ।
यता राष्ट्रिय टोलीले आइतबारदेखि विश्वकप छनोटलाई लक्षित गरेर तयारी सुरु गर्दैछ । एन्फाले ५८ खेलाडीलाई बन्द प्रशिक्षणमा राख्ने निर्णय गत साता गरेको थियो । प्रमुख प्रशिक्षक योहान कालिनले राजिनामा दिएपछि हाल बालगोपाल महर्जनले कार्यवाहक प्रशिक्षकको जिम्मेवारी निभाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय