एजेन्सी : वेष्ट इन्डिजमा हुने सन् २०२२ को यु–१९ विश्वकपको छनोट खेलको तालिका सार्वजनिक भएको छ । कोरोना माहामारीका कारण स्थगित भएको छनोट प्रतियोगिताको तालिका अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले पुनः सार्वजनिक गरेको हो । वेष्ट इन्डिजको यू–१९ विश्वकपमा ५ स्थानका लागि विश्वभरका ३३ राष्ट्रले छनोट खेल खेल्ने छन् ।

गत संस्करणको यू–१९ विश्वकपमा शीर्ष ११ भित्र रहेका राष्ट्र भने सिधै विश्वकपमा छनोट भएका छन् । जस अनुसार अफगानिस्तान, अष्ट्रेलिया, बंगलादेश, इंग्ल्याण्ड, भारत, न्युजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, वेष्ट इण्डिज र जिम्बाबे सोझै यू–१९ विश्वकपमा छनोट भएका छन् । क्षेत्रीय छनोटबाट आउने थप ५ राष्ट्रले ११ राष्ट्र सम्मलित यू–१९ विश्वकपमा प्रतिस्पर्धा गर्ने छन् ।

सन् २०२१ को जुनमा सात क्षेत्रीय प्रतियोगिताबाट छनोट खेल्ने राष्ट्रको टुंगो लाग्ने छ । एसिया र अफ्रिका क्षेत्रमा बलिया राष्ट्र भएका कारण दुई क्षेत्रलाई थप दुई डिभिजनमा विभाजन गरिएको छ । पहिलो डिभिजनमा छनोट हुने राष्ट्रले क्षेत्रीय छनोट खेल्ने छ । नेपालले भने सोझै एसियाको क्षेत्रीय छनोट खेल्ने छ । नेपाल एसिया छनोटमा च्याम्पियन भएको खण्डमा सिधै विश्वकप खेल्नेछ । एसिया क्षेत्रीय छनोटमा नेपालसंगै युएई, मलेसिया र डिभिजन छनोटबाट छानिएका २ राष्ट्र रहने छन् ।

क्षेत्रीय छनोट युएईमा हुने छ । क्षेत्रीय छनोटको विजेताले विश्वकपमा स्थान बनाउने छ । नेपालले खेल्ने एसिया छनोटको मिति भने सार्वजनिक गरिएको छैन । लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएको नेपालले बंगलादेशमा भएको सन् २०१६ को विश्वकप खेले यता यू–१९ विश्वकपमा छनोट हुन सकेको छैन । गत संस्करणको विश्वकप छनोटमा नेपाल युएईसंग डीएलए पद्दतीमा १ रनले पराजित हुँदा विश्वकपमा पुग्न असफल भएको थियो । हालसम्म नेपाल यू–१९ विश्वकपमा दुई पटक सेमिफाइनलसम्म पुगेको छ । यू–१९ विश्वकपमा नेपालले अधिकांश टेष्ट राष्ट्रलाई पराजित गर्दै आएको इतिहास छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय