काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका लेगस्पिनर सन्दिप लामिछाने पाकिस्तान सुपर लिग (पीएसएल) खेल्ने भएका छन् । उनले लाहोर कलन्दर्सबाट जारी सिजनको पीएसएल खेल्ने भएका हुन् ।

राशिद खान राष्ट्रिय टिमका लागि स्वदेश फर्किएपछि सन्दीप उनको स्थानमा लाहोरमा जोडिएका हुन् । उनी आज बिहान ११ बजे नै पीएसएलका लागि पाकिस्तान उडेका छन् । सन्दीपले २०१९ को पीएसएलमा लाहोरबाट खेलेका थिए । सो सिजनमा उनले सात खेलमा ११ विकेट लिएका थिए ।

सोही सिजनमा सन्दीपले एक म्याचमा चार ओभरमा १० रन खर्चेर चार विकेट लिएका थिए । डेब्यू सिजनमा उत्कृष्ट प्रदर्शनका बाबजुद पनि त्यसयताका दुई संस्करणको ड्राफ्टमा भने सन्दीपलाई कुनै पनि टिमले अनुबन्ध गरेनन् । लाहोरले जारी प्रतियोगितामा ३ म्याच खेल्दा दुईमा जित र एक खेलमा हारको सामना गरेको छ । लाहोरले चौथो म्याच आइतबार कराची किंग्सविरुद्ध खेल्दैछ ।

सन्दीपले भने कहिलेदेखि म्याच खेल्न भन्नेबारे खुल्न बाँकी छ । जारी सिजनमा पनि कलन्दर्सको कप्तानी सोहेल अख्तरले गरिरहेका छन् । जारी पीएसएल संस्करणमा पनि ६ टिमले प्रतिस्पर्धा गर्दैछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय