नारायण अधिकारी, चितवन, पुस १९ । चिसो मौसममा उच्च रक्तचापको जोखिम बढी हुने यहाँका चिकित्सकले बताएका छन् । जाडोले शरीरका नशा खुम्चिने र उचित खानपानमा ध्यान नदिने हुँदा उच्च रक्तचापसँगै मुटुको समस्या हुने चिकित्सकको भनाइ छ । अस्पतालमा अन्य समस्या लिएर आएका बिरामीमासमेत उच्च रक्तचापको समस्या देखिने गरेको छ ।

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष एवं फिजिसियन डा.भोजराज अधिकारीले आफूमा रक्तचाप छैन भन्नेहरुमा पनि रक्तचाप बढेको बताए । उनले भने, “चिसो मौसम सुरु भएयता अन्य प्रयोजनले परीक्षणमा आउने बिरामीमा उच्च रक्तचाप धेरैमा देखिन थालेको छ ।” यसअघि कहिल्यै रक्तचाप उच्च नदेखिएका र थाहासमेत नपाएकामासमेत समस्या देखिएको उनको भनाइ छ । उनले रासससँग भने, “मलाई उच्च रक्तचाप छैन भन्नुहुन्छ, तर परीक्षण गर्दा रक्तचाप उच्च देखिएको छ ।”

हरेक तीन जना उच्च रक्तचापका बिरामीमध्ये एक जनालाई आफूमा रक्तचाप रहेको थाहा नहुने गरेको उनले अनुभव सुनाए । रक्तचाप पत्ता लागेर नियमित औषधि सेवन गरेका भन्दा रक्तचाप रहेको तर थाहा नै नपाएका बढी जोखिममा रहेको उनले बताए । उनले भने, “उच्च रक्तचाप भएर पनि थाहा नपाउनु वा परीक्षण नगर्नु अत्यन्त जोखिमपूर्ण हो ।” उनले समय समयमा रक्तचाप परीक्षण गर्न पनि सुझाव दिए । उनले भने “म स्वस्थ छु भनेर यसै बस्नु हुँदैन, समय समयमा परीक्षण गराउनुपर्छ ।”

पुष्पाञ्जली अस्पताल प्रालिमा बिहान र बेलुकाको समयमा बिरामी परीक्षण गर्दै आएका डा.अधिकारीले आफूकहाँ दुई दिनको बहिरङग परीक्षणमा आउने बिरामीको रेकर्डमा नै करिब २५ प्रतिशतमा पहिलो पटक अत्यधिक रक्तचाप देखिएको बताए । उनले भने “बिरामी धेरैले पहिला कहिल्यै रक्तचाप नदेखिएको र आफूलाई थाहा पनि नभएको बताए ।”

गर्मी मौसममा पसिना बढी आउने हुँदा पसिनाबाट नूनको मात्रा बाहिरिने र शरीरमा नून घट्ने बताउँदै उनले जाडो समयमा शरीरमा नूनको मात्रा बढी हुने जानकारी दिए । डा.अधिकारीले भने, “जाडोमा शरीरका रगतका नलीहरु खुम्चिन्छन् र जाम हुन्छन् । यस्तो अवस्थामा नलीहरुले निचोरेर रगतलाई मुटुमा फिर्ता पठाउँछन् ।” मुटुले पनि आफूसँग आएको रगतलाई पुनः (पम्प) फाल्ने काम गर्छ । यसरी नली खुम्चिएर फिर्ता पठाएको रगत मुटुले तत्काल नली तर्फ नै फिर्ता पठाउदा रक्तसञ्चारको प्रवाह नमिलेपछि रक्तचाप बढ्ने अधिकारीको भनाइ छ ।

जाडो मौसममा मादक पदार्थ, चुरोटलगायतका सूर्तिजन्य पदार्थ, माछामासु बढी प्रयोग गर्ने हुँदा पनि यो मौसममा रक्तचाप बढ्ने उनले बताए । विश्वको जनसङ्ख्याको करिब ४ भागमा एक भाग उच्च रक्तचाप भएका मानिस हुनथालेको बताउँदै डा.अधिकारीले भने, “जबकी विश्वमा करिब २५ प्रतिशत जनसङ्ख्या त बच्चा र युवकको छ ।” विश्वमा तीन प्रकारका उच्चरक्तचापका मानिस रहेको बताउँदै उनले अगाडि थपे, “पहिलो–उच्चरक्तचाप छ तर थाहा छैन, दोस्रो–उच्चरक्तचाप छ, दबाइ खान्छ तर कन्ट्रोल छैन र तेस्रो– उच्चरक्तचाप छ, दबाइ खान्छ र कन्ट्रोल पनि छ, उद्देश्य तेस्रो हुनुपर्छ ।”

नियमित व्यायाम, दैनिक करिब ३० मिनेटको फटाफट हिँडाइ, नून तथा चिल्लो कम सहितको सन्तुलित भोजन, योगा, तनावमुक्त जीवनशैली र विज्ञको परामर्शमा आवश्यक परे औषधि सेवन गरी रक्तचापलाई १३०/८० भन्दा कम राख्ने लक्ष्य राख्न उनले सुझाव दिए ।

चितवन मुटु अस्पतालका अध्यक्ष एवं मुटुरोग विशेषज्ञ डा.शङ्कर लौडारी जाडो मौसममा उच्च रक्तचापसँगै मुटुको समस्या पनि बढी हुने बताए । उनले हृदयघात (हर्टयाट्याक) र हर्टफेलर हुनसक्ने जोखिम रहेको बताए । उनले भने,“उच्च रक्तचापसँगै दिमागको नशा फुट्ने र पक्षघात हुने हुन्छ, त्यसलाई स्ट्रोक भनिन्छ ।”

डा.लौडारीले अगाडि भने,“जाडो मौसममा हातखुट्टाको रक्तनली खुम्चिने गर्दछ, (जसलाई पेरिफेरल भ्यासोकन्स्ट्रीक्सन स्ट्रोक भनिन्छ ।) ” धेरै चिसोमा हिँड्डुल नगर्न सुझाव दिँदै उनले घाम लागेको समयमा र चिसो कम भएको समयमा हिँड्डुल गर्न सुझाव दिए । नून, चिल्लो पदार्थ कम गर्न, मदिरा र धूमपान सेवन नगर्न, नियमित व्यायाम गर्न, मधुमेह, कोलस्ट्रोल र उच्च रक्तचापको नियमित परीक्षण गर्न उनले सुझाए । रासस

प्रतिक्रिया

सम्बन्धित खवर