पुस २० । भारत, उत्तर प्रदेशको सुल्तानपुरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कालो झन्डा देखाउने महिलामाथि गोली प्रहार गरिएको हो । भारतीय कांग्रेसकी नेत्री रीता यादवलाई सोमबार अज्ञात व्यक्तिले गोली प्रहार गरेका हुन् ।

गोली उनको खुट्टामा लागेको थियो । घाइते अवस्थामा अस्पताल पुर्‍याइएकी उनको अहिले सुल्तानपुर जिल्ला अस्पतालमा उपचार भइरहेको बीबीसी हिन्दीले जनाएको छ ।

उनले मिडियासित भनेकी छन्, “म पोस्टर, ब्यानर बनाउन सुल्तानपुर गएकी थिएँ । त्यहाँबाट घर जाँदै थिएँ । त्यही बेला राजमार्गमा तीन व्यक्तिले ओभर टेक गरेर मेरो बोलेरो (जिप)लाई रोके र गाली गर्दै ज्यान मार्ने धम्की दिएँ । मेरो चालकको कन्चटमा पेस्तोल तेर्स्याए । जब मैले ती व्यक्तिलाई एक थप्पड हानेँ, उनले ममाथि गोली चलाए । गोली मेरो खुट्टामा लाग्यो । उनीहरू भागे ।”

बीबीसी हिन्दीका अनुसार गएको नोभेम्बर १६ तारिखमा प्रधानमन्त्री मोदी पूर्वाञ्चल एक्सप्रेसमार्गको उद्घाटन गरेर कुरेभारस्थित अरवल किरीमा सभा गरिरहेका थिए । सोही बखत रीता यादवले उनलाई कालो झन्डा देखाएकी थिइन् । प्रहरीले उनलाई पक्राउ गरी हिरासतमा राखेको थियो । दुई दिनपछि उनी जमानतमा रिहा भएकी थिइन् ।

घटनाको एक महिनापछिसम्म उनी समाजवादी पार्टीमा रहेकी थिइन् । तर, सम्मान नपाएको भन्दै उनी डिसेम्बर १७ मा भारतीय कांग्रेसमा सामेल भइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर