
नयाँ शैक्षिकसत्र शुरु भएसँगै देशभरका ५९ जिल्लाका विद्यालयहरुमा किताब (पाठ्यपुस्तक) पुगेको छ ।
गत चैत २४ गतेदेखि वैशाख ३ गतेसम्म देशभरका ५९ जिल्लाका विद्यालयहरुमा पाठ्यपुस्तक पुगेको जनक शिक्षा सामग्री केन्द्रले बताएको छ ।
आज सोमबार पाठ्यपुस्तक बिक्रीवितरण र छपाईको विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनकशिक्षा सामग्री केन्द्रमा अनुगमन गरेको थियो । अनुगमन पश्चात जनक शिक्षा सामग्री केन्द्रका प्रवन्धक अनिलकुमार झाले नयाँ शैक्षिक सत्रमा सबै जिल्लाका सबै विद्यालयहरूमा पुस्तक उपलब्ध गराउने गरी काम भइरहेको बताउनुभयो ।
केन्द्रले कक्षा ६ देखि १० सम्मका एक करोड ५० लाख पाठ्यपुस्तकहरू छापिसकेको छ । चैत २४ देखि देशभर पाठ्यपुस्तक पु¥याउन सुरू गरिएको झा को भनाई छ । उहाँले अहिलेसम्म ५९ जिल्लाका विद्यालयहरुमा पाठ्यपुस्तक पुगेको र बाँकी रहेका १८ जिल्लामा पनि केही दिनभित्र पुस्तक पुगिसक्ने बताउनुभयो ।
प्रवन्धक झाले ढुवानीमा समय लाग्ने हिमाली र पहाडी दुर्गम जिल्लाहरुलाई प्राथमिकतामा राखेर किताब बिक्री –वितरण गरेको बताउनुभयो । यसपटक किताब हुम्ला, जुम्ला, कालीकोट, मनाङ जिल्लामा समेत पुगिसकेको झाले बताउनुभयो । पुस्तक छपाई गर्ने मेसिन,जनशक्ति,बजेट र कच्चापदार्थको व्यवस्थापन समयमा नै गर्न सकेकाले यो वर्ष विद्यालय सञ्चालन हुनुभन्दा पहिले नै विद्यालयहरुमा पुस्तक पु¥याउन सफल भएको उहाँको भनाई छ ।
यसवर्ष थप तीन वटा छपाई मेसिन खरिद गरि प्रतिदिन ८० हजार छपाई क्षमतालाई बढाएर प्रतिदिन दुई लाख ४० हजार पुस्तक छाप्न सक्ने क्षमतामा केन्द्र पुगेको छ । यसकारण पनि समयमै पुस्तक पु¥याउन सकिएको उहाँले बताउनुभयो ।
कागजखरिदमा समस्या नहुनु, स्थायी र जेलदारीका जनशक्ति थप गर्नु र चालुपुँजीको समस्या नभएकाले समयमा नै पुस्तक छपाई गरी विद्यालयहरु पुस्तक पु¥याउन सकिएको झाले बताउनुभयो ।
यस वर्षको पुस्तक छपाइका लागि केन्द्रले राष्ट्रिय वाणिज्य बैंक र नागरिक लगानी कोषबाट गरी ८५ करोड ऋण लिएको थियो । झाका अनुसार पाठ्यपुस्तक विक्री गरेर केन्द्रले ४० करोड ऋण तिरिसकेको छ । प्रधानमन्त्री कार्यालयबाट पनि सहयोग पाएपछि पुस्तक छपाइमा थप सहज भएको उहाँले जानकारी दिनुभयो ।
केन्द्रिय कार्यालयबाट कक्षा ६ देखि १० सम्मका १६ लाख १३ हजार नौसय ५४, प्रादेशिक कार्यालय विराटनगरबाट पाँचलाख ७३ हजार १४, प्रादेशिक कार्यालय जनकपुरबाट पाँचलाख ७० हजार सातसय४६, प्रादेशिक कार्यालय भरतपुरबाट १२ लाख सातहजार नौसय २० पुस्तक बिक्री गरेको केन्द्रले जनाएको छ ।
त्यस्तै प्रादेशिक कार्यालय पोखराबाट ७७हजार पाँचहजार छ सय, प्रादेशिक कार्यालय बुटवलबाट छ लाख ३४ हजार चारसय ७४, प्रादेशिक कार्यालय नेपालगञ्जबाट १० लाख ३८ हजार, प्रादेशिक कार्यालय सुर्खेतबाट तीनलाख ५२ हजार दुईसय र प्रादेशिक कार्यालय धनगढीबाट छ लाख छ हजार चारसय ८१ गरी ७४ लाख ७२ हजार तीनसय ८९ पाठ्यपुस्तक बिक्री –वितरण भएको छ । सोलुखुम्बु, धनकुटा ,मोरङ, सुनसरी, झापा, सिरहा, सर्लाही, बारा, पर्सा, रुपन्देही बाँके, बर्दिया, दैलेख, सुुर्खेत, डोटी, डडेलधुरा, कञ्चनपुर र कैलाली गरी १८ जिल्लाका विद्यालयहरुमा पाठ्यपुस्तक बिक्री –वितरण हुनबाँकी रहेको केन्द्रले जनाएको छ ।