रत्ननगर ०४ पुस । चितवनको पर्यटकीय नगरी सौराहामा क्रिसमस इभको तयारी थालिएको छ । रेष्टुरेन्ट एण्ड बार एशोसियसन(रेवान) सौराहाले यस बर्षको क्रिसमस डे लाई भब्य बनाउने गरी तयारी थालेको हो । २५ डिसेम्बर, अर्थात पुस दश गते यस बर्ष क्रिसमस डे परेको छ । त्यसको पूर्व सन्ध्यामा पुस ९ गते सौराहामा भब्य कार्यक्रम आयोजना गरिने रेवानको अध्यक्ष नरेश गिरीले जानकारी दिए । इसाई धर्मावलम्बीहरूको सबैभन्दा ठूलो पर्व क्रिसमस इभलाई पर्यटक भित्र्याउने माध्यमको रुपमा लिएर तयारी थालिएको उनले बताए । क्रिसमस डे आउन एक हप्ता देखि नै सौराहालाई सझाउन थालिएको छ । सौराहाको मुख्य बजारमा ध्वजापतका टागिएको छ । पुस ९ गते साझ सौराहाको गैंडाचोकमा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिएको रेवानका महासचिव सुर्यबहादुर रिमालले जानकारी दिए । राष्ट्रिय कलाकार सहित रत्ननगर कला मन्दिरका कलाकारको प्रस्तुती रहने छ । सौराहाको मल्लुचोक देखि राप्ती ड्याक सम्म र हात्तीचोक देखि गैंडाचोक सम्मको क्षेत्रलाई क्रिसमसमय बनाउने गरी तयारी गरिरहेको महासचिव रिमालले बताए । क्रिसमस मनाउन सौराहा आउने पर्यटकलाई मनोरञ्जन प्रदान गर्न चोकचोकमा विभिन्न जातजातीका झाकी प्रर्दशन गर्ने, सडकमै खाने र सडकमै नाच्न सक्ने व्यवस्था मिलाइने छ । रेष्टुरेन्ट र होटलहरुमा क्रिसमस ट्रि बनाउन सुरु गरिएको छ । पर्यटक रमाउने गरी मुख्य बजारका रेष्टुरेन्टहरुलाई खानाका परिकार सडक किनारमा बसेर खान मिल्ने व्यवस्था मिलाउन आग्रह गरिएको छ । रेवानले प्रत्येक बर्ष प्रणय दिवसको अबसरमा फुड फेष्टिबल आयोजना गर्दै आएको छ । कोरोनाले थलापरेको सौराहाको पर्यटनलाई पुनर्जीवन दिन क्रिसमस भइ कार्यक्रम आयोजना गरिएको हो । क्रिसमस डे, अंग्रेजी नयाँ बर्ष जस्ता महत्वपूर्ण पर्बलाई आधार बनाएर सौराहामा पर्यटक भित्र्याउने योजना रहेको रेवानका पूर्व अध्यक्ष गोकर्ण गिरीले बताए । सौराहा मुलुकको तेस्रो पर्यटकीय गन्तव्य हो । कोरोनापछि सौराहाको पर्यटन व्यवसायलाई पुरानै अबस्थामा व्यवसायीहरुले प्रयास जारी राखेका छन् । यहाँ स्वदेशी तथा विदेशी पर्यटक आउन थालेका छन् ।
सौराहामा क्रिसमसको तयारी तिव्र