काठमाडौँ । राष्ट्रिय सेवा दलले यही असार १ गतेबाट जुनियर डिभिजन राष्ट्रिय सेवा दल (एनसीसी) तालिम सुरु गरेको छ ।
दुई चरणमा सञ्चालन हुने उक्त तालिम अन्तरगत पहिलो चरणमा संस्थागत तालिम र दोस्रो चरणमा वार्षिक सामूहिक क्याम्प सञ्चालन हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
यो तालिममा देशभरका २ सय २१ वटा विद्यालयहरूमा अध्ययनरत ६ हजार ६ सय ३० छात्रछात्राहरू सहभागी भएका छन् ।
३६ वटा विद्यालयहरूमा अध्ययनरत १ हजार ८० जना छात्रछात्राहरू समावेश गरी सिनियर डिभिजन तालिम २०८३ साल भादौ महिनाबाट सञ्चालन गर्ने योजना रहेको नेपाली सेनाले जनाएको छ ।
तालिममा सैनिक कला, विपद् जोखिम न्यूनीकरण, नेतृत्व तथा व्यक्तित्व विकास, सामाजिक उत्तरदायित्व, अनुशासन लगायत विविध विषयमा सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गरिने जनाइएको छ ।
२०२२ सालमा स्थापना भएको राष्ट्रिय सेवा दलले आफ्नो स्थापनाकालदेखि हालसम्म ८९ हजार ८ सय ९४ जनालाई सिनियर तथा जुनियर डिभिजन राष्ट्रिय सेवा दल तालिम प्रदान गरिसकेको छ ।