पेट्रोलमा डिजल मिसाईएको भन्दै खैरहनीको हरिशरणम आयलमा शिल

पेट्रोलमा डिजल मिसाइएको भन्दै खैरहनी मगनी चोकस्थित हरिशरणम आयल डिष्टिब्युटर्सलाई खैरहनी नगरपालिकाले बन्द गराएको छ ।

पेट्रोलमा डिजल मिसाइएको गुनासो धेरै आएपछि खैरहनी नगरपालिकाको टोलीले अनुगमन गरेर तत्कालका लागि उक्त पम्पबाट डिजल तथा पेट्रोल वितरणमा रोक लगाएको हो । पेट्रोल प्रयोगपछि केही सर्वसाधारणको सवारीसाधनमा समस्या आएपछि यो घटना बाहिर आएको हो ।

घटना बाहिर आएपछि खैरहनी नगरपालिकाका नगरप्रमुख शशिकुमार खनियाँ, उपप्रमुख कविता उप्रेती, प्रमुख प्रशासकीय अधिकृत पुरूषोत्तम शर्मा, खैरहनी–८ का वडा अध्यक्ष शंकर कँडेल, इलाका प्रहरी कार्यालय खैरहनीका प्रमुख प्रहरी निरीक्षक भानु खड्कासहितको टोलीले आयल स्टोर्सको अनुगमन गरेको थियो ।

डिष्टिब्युटर्सको तेल परीक्षणका लागि काठमाडौँ पठाउन नमुना संकलन गरिएको र तत्कालका लागि पम्पबाट तेल बिक्रीवितरण गर्न नदिन सिलसमेत गरिएको खैरहनी नगरपालिकाकी उपप्रमुख तथा अनुगमन समितिकी संयोजक कविता उप्रेतीले जानकारी दिइन् । लापर्बाही गरेको प्रमाणित भएमा उक्त पेट्रोल पम्पलाई कारबाहीको दायरामा ल्याउने नगरप्रमुख शशिकुमार खनियाँले बताए ।

आयल स्टोर्सका सञ्चालकले भने उक्त समस्याका बारेमा गुनासो आउनासाथ आफैँले पेट्रोल बिक्रीवितरण गर्न बन्द गरेको दाबी गरे । डिष्टिब्युटर्सका सञ्चालक रञ्जीत गुप्ताले पेट्रोलमा गुनासो आउनासाथ पम्पमा पुगेर हेर्दा पेट्रोलमा डिजल मिसिएको देखेपछि आफैँले तत्कालै पेट्रोल बिक्रीवितरण गर्न बन्द गरेको बताए । उनले कर्मचारीको त्रुटिको कारण यस्तो घटना भएको बताए ।

सुरूमा स्टोरेज ट्याङ्कीमा लिक भएर डिजल मिसिएको अनुमान गरे पनि पछि सिसी क्यामरा हेर्दा गाडीमा आएको डिजल कर्मचारीले पेट्रोलको ट्याङ्कीमा अनलोड गरेको देखिएको र कर्मचारीले समेत गल्ती स्वीकार गरेको सञ्चालक गुप्ताको दाबी छ ।

By सञ्जय दवाडी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.