रत्ननगरको सार्वजनिक सुनुवाई, नगरबासीको गुनासो र सुझाब उत्तिकै

चितवन, पुस २३ । रत्ननगर नगरपालिकाको चालु आर्थिक बर्षको प्रथम सार्वजनिक सुनुवाई विहीवार गरिएको छ ।

कार्यक्रममा नगरबासीहरुले विकास निर्माणको विषयमा जनप्रतिनिधि समक्ष गुनासो र सुझाब राखेका छन् । सुकुमबसीलाई लालपूर्जा माग देखि विकास निर्माणको गुणस्तर,नागरिक सुरक्षा फोहोर व्यवस्थापन सम्ममा विषयहरुलाई नगरबासीहरुले जोडतोडका साथ उठाएका छन् ।

सार्वजनिक सुनुवाईमा लालपूर्जाको मागसंगै पूर्वाधार निर्माणमा भएका गुणस्तर, सार्वजनिक जग्गा संरक्षण, आर्थिक पारदर्शीता, कर्मचारीको कार्यशैली, फोहोर व्यवस्थापन, साँध सिमाना, जग्गा अतिक्रमण, कृषि र पशुपालन क्षेत्रमा अनुदान, विद्यालय समायोजन, शिक्षक दरबन्दी, न्याय सम्पादन लगायतका विषयमा नगरका अगुवाहरुले प्रश्न गरेका छन् ।

कार्यक्रममा मेयर नारायण वन, उपमेयर विमला दुवाडी, प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल, वडा नं २ का वडाध्यक्ष तिलकराज शर्मा, वडा नं ७ का वडाध्यक्ष राजन भट्ट, नगर शिक्षा अधिकारी बद्रिनारायण शर्मा, कृषि शाखा प्रमुख प्रविण लामा, पशुविकास शाखा प्रमुख शालिग्राम पौडेलले नगरबासीले राखेका प्रश्नको जवाफ दिएका थिए ।

नगरबासीको प्रश्नको जवाफ दिँदै मेयर वनले करिब साढे चार बर्षमा नगरको विकासको लागि काम गरेको बताए । सार्वजनिक जग्गा संरक्षणमा आफुले दर्जनौं मुद्दा खेप्न बाध्य भएको भन्दै उनले अहिले सम्म नगरवालिकाले ४० विघा भन्दा बढी सार्वजनिक जग्गा फिर्ता ल्याउन सफल भएको बताए ।

नगरबासीहरुले अनुभूति गर्ने खालका थ्रुपै काम गरेको भन्दै उनले टाँडीचोकमा आकासे पुल, मातृशिशु अस्पताल, बृद्धबृद्धालाई घरमै उपचार, खरको छानो विस्तापित, धान पीडित किसानलाई राहत वितरण, सौराहामा सिटीहल, रत्ननगरमा बसपार्क निर्माण त्यसको उदाहरण भएको बताए ।

मेयर वनले सौराहामा वन्यजन्तु अस्पताल र टाँडीमा कृषि अस्पताल सञ्चालन भएको पहिला नगरपालिका रत्ननगर भएको बताए । कार्यक्रममा नेपाल बसोबास बस्ती संरक्षण समाज रत्ननगरका उपाध्यक्ष रवि भट्ट र आकृति महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष फुलकुमारी तामाङले सुकुमबासीलाई तत्काल लालपूर्जा वितरण गर्न माग गरेका छन् ।

उनीहरुको मागका विषयमा बोल्दै मेयर वनले केन्द्र सरकारले रातो लालपूर्जा वितरण नगरे स्थानीय सरकारको रुपमा रहेको रत्ननगरले सुकुमबासी समुदायलाई सेता पुर्जा वितरण गर्ने बताए ।

कार्यक्रममा नेपाली काँग्रेसका निर्वतमान नगर सभापति रुपनराज घिमिरे, सहसचिव रामचन्द्र पौडेल, माओवादी केन्द्रका नगर प्रतिनिधि श्याम प्रसाद बराल, एकीकृत समाजबादीका नगर अध्यक्ष बद्रिनाथ घिमिरे, इलाका प्रहरी कार्यालय रत्ननगरका डिएसपी इन्द्रबहादुर राना, नगर स्तरीय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर चालिसे, चितवन उद्योग संघ रत्ननगर इकाईका अध्यक्ष गोविन्द खनाल लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा टोल विकास संस्था,सहकारी संस्था, आमा समुह, अन्य विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले नगर विकास र सुशासनमा केन्द्रीत रहेर जनपतिनिधिहरुलाई प्रश्न गरेका थिए ।

By Admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.