देवघाटधामका अतिक्रमित संरचना भत्काउन सुरु

चितवन, पुस २३ । पवित्र तीर्थस्थल देवघाटधाममा अतिक्रमण गरेर निर्माण गरिएका भौतिक संरचना भत्कालन सुरु गरिएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट, तनहुँको देवघाट र चितवनको भरतपुर कार्यक्षेत्र रहेको देवघाट क्षेत्र विकास समितिले सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने जनाउँदै अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउन सुरु गरेको हो ।

देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्रीप्रसाद अधिकारीले अतिक्रमण गरेर निर्माण गरिएको संरचना डोजर लगाएर भत्काउन सुरु गरिएको बताए । “हामीले चितवनको भरतपुर महानगरपालिका–१ मा पर्ने देवाघाटतर्फबाट सडक मिचेर निर्माण गरिएको घरटहरा भत्काउन सुरु गरेका छौँ”, अध्यक्ष अधिकारीले भने, “बिहीबारमात्रै सीताराम संस्कृत माविदेखि चितवन र तनहुँ जोड्ने झोलुङ्गे पुलसम्मको सडक किनारको संरचना हटाउने कामको सुरु गरिएको छ ।”

चितवनतर्फको देवघाटमा रहेको सीताराम संस्कृत माविबाट झोलुङ्गे पुलसम्म ११ मिटर चौडाइको सडक भए पनि अतिक्रमणमा परेको अधिकारीले बताए । सडकको दुवै किनारमा अतिक्रमण गरेर घरटहरालगायत भौतिक संरचना निर्माण गरिँदा सडक साँघुरो हुँदै गएपछि देवघाट क्षेत्र विकास समिति निर्मम भएर लागेको समितिका कार्यकारी निर्देशक धीरनबाबु घिमिरेले बताए ।

“क्षेत्र विकास समितिको क्षेत्राधिकारभित्र पर्ने सार्वजनिक सम्पत्तिको संरक्षणमा हामी निर्मम भएर लाग्दैछौँ”, घिमिरेले भने, “हाम्रो क्षेत्राधिकार पर्ने स्थानमा जहाँ जोसुकैले अतिक्रमण गरेको भए पनि त्यस्तो स्थानमा हामीले डोजर चलाएरै भए पनि सम्पत्तिको संरक्षण गर्छौँ ।” सडक साँघुरो हुँदा दुर्घटना बढ्ने तथा देवघाट मेलाका क्रममा बढी भीडभाड हुनेसमेत घिमिरेको भनाइ छ ।

नजिकिँदै गरेको देवघाट मेलालाई मध्यनजर गर्दै अतिक्रमित संरचना हटाउन सुरु गरिएको देवघाट क्षेत्र विकास समितिका सदस्य नवराज ढकालले बताए । देवघाटधाममा स्नानका लागि करिब पाँच लाख तीर्थालु आउने अपेक्षा गरिएको जनाउँदै ढकालले सबैको व्यवस्थापनका लागि पनि सार्वजनिक सम्पत्ति संरक्षण आवश्यक रहेको बताए । तीनवटै जिल्लातर्फ जुन स्थानमा सार्वजनिक सम्पत्तिको अतिक्रमण भएको भए पनि आफूहरुले ती स्थान खाली गराउने ढकालले बताए । रासस

By Admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.