काठ बरामद प्रकरण ः काठ जस्ताको तस्तै फिर्ता नगरे आन्दोलन गर्ने जलदेवी वनको चेतावनी

भरतपुर महानगरपालिकाको आँपटारीस्थित जलदेवी सामुदायिक वनबाट डिभिजन वन कार्यालयले काठ लगेपछि सामुदायिक वन समितिले तत्काल उक्त काठ फिर्ता गर्न माग गरेको छ । हिजो बिहीबार भएको पत्रकार सम्मेलनमा वन कार्यालयले पार्क क्षेत्रमा ढिकी, जाँतो, रोटे पिङलगायतका नेपाली मौलिक संरचना निर्माण गर्न हावाहुरीले भाँचेको हाँगाबाट निस्किएको काठ राख्दा डिभिजन वनले लगेको भन्दै त्यसलाई जस्ताको तस्तै फिर्ता गर्न र नगरे आन्दोलन गर्ने चेतावनी समेत दिएको छ ।
गत साउनको अन्तिममा वन समितिको बैठकले निर्णय गरेर आवश्यक कानुनी प्रक्रिया पु¥याई आवश्यक प्रयोजनका लागि भनेर राखेको ४८ क्युफिट काठ सांसद्ले भनेको भरमा डिभिजन वन कार्यालयले निकालेर लैजान नमिल्ने सामुदायिक वनका अध्यक्ष माधव देवकोटाले बताउनुभयो । वनले हावाहुरीले ढालेका हाँगाबिँगाबाट निस्किएको काठ पार्क क्षेत्रमै रहेको एउटा कोठामा राखेको थियो ।

त्यसैलाई बेच्न राखेको र वन समितिले नै काठ तस्करी गर्न लागेको भनेर भ्रम फैलाएको भन्दै चितवन क्षेत्र नं २ का सांसद् रवि लामिछानेको समेत देवकोटाले आलोचना गर्नुभएको छ । वन कार्यालयभित्र काठ राखेको विषयमा सांसद् लामिछानेलाई उजुरी पुगेपछि लामिछानेको टोलीले गत मंसिर २३ गते अनुगमन गरेको थियो । सो क्रममा नेता लामिछानेले वैध या अवैध भनेर बुझ्न डिभिजन वन कार्यालयले काम गर्ने बताउनुभएको थियो ।
तर, लामिछानेको पार्टीले भने उक्त काठ अवैधानिक तरिकाले लुकाएर राखेको भनेर सामुदायिक वन कार्यालयको भित्तामै प्रेस विज्ञप्ति टाँसेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जिल्ला सचिव दिनानाथ पराजुली र भरतपुर महानगर सदस्य पूर्ण गुरूङद्वारा जारी विज्ञप्तिमा सामुदायिक वनको वर्तमान कार्यसमिति भङ्ग गरी नयाँ निर्माण गर्नसमेत माग गरिएको छ । वन समितिले जिपलाइनको टिकट घरको पछाडि काठ लुकाएर राखेको पार्टीको आरोप छ । तर, सामुदायिक वनले भने विधि–विधान पु¥याएरै काठ संरक्षण गरेर राखेको दाबी गर्दै आएको छ ।

उक्त कार्यक्रममा जलदेवी सामुदायिक वनको छिमेकी वन समितिका अध्यक्षहरुले रवि लामिछाने र डिभिजन वन कार्यालयको मिलेमतोमा सामुदायिक वन र तिनका कर्मचारीलाई हतोत्साहित हुने काम गरेको आरोप लगाए । डिभिजन वन कार्यालयका कर्मचारीबाट भ्रष्टाचार भइरहेका कुरासमेत आफूहरुले थाहा पाएको भन्दै आवश्यक प्रमाण जुटाएर सार्वजनिक गर्ने उनीहरुको भनाइ छ । सांसद् भएको आडमा रवि लामिछानेले पनि पदको दुरूपयोग गरेको उनीहरुको आरोप छ ।
यता अनुगमनमा पुगेका नेता लामिछानेले भने आफूलाई वनमा काठ लुकाएर राखेको विषयमा जानकारी आएको हुँदा जनताको गुनासो सम्बोधन गर्न अनुगमनमा पुगेको बताउनुभएको छ । त्यसबाहेकको बाँकी प्रक्रिया डिभिजन वन कार्यालयबाट हुने भएकोले कानुनी विषयमा आफूले केही भन्न नमिल्ने उहाँको भनाई छ ।
डिभिजन वन कार्यालय चितवनले भने उक्त काठको विषयमा आवश्यक छानबिन भइरहेको बताएको छ । सामुदायिक वनबाट डिभिजन वनमा काठ आइसकेपछि हाल अनुसन्धान अधिकृत तोकेर काम भइरहेको डिभिजन वन कार्यालय चितवनले जनाएको छ ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.