बढ्न थाल्यो अण्डाको मूल्य

लागत मूल्यभन्दा निकै कममा बिक्री भइरहेको अण्डाको मूल्य बढ्न थालेको छ । बजारमा माग बढ्दै गएपछि हिजो शनिबारबाट चितवनलाई आधार मानेर बजार मूल्य ३० गोटा (एक क्रेट) को रु तीन सय ६० तय गरिएको हो । नेपाल लेयर्स कुखुरापालक सङ्घको बैठकले बिक्री मूल्य तय गरेको हो ।
यसअघि अण्डाको मूल्य प्रतिक्रेट रु तीन सयमा बिक्री हुँदै आएको थियो । सङ्घका अध्यक्ष विनोद पोख्रेलका अनुसार अहिलेको लागत मूल्य प्रतिक्रेट रु चार सय ३५ पर्न आउँछ । पाँच वर्षअघि दानाको मूल्य प्रतिकिलो रु ३० हुँदा अण्डा प्रतिक्रेट रु तीन सयमा बिक्री हुने गरेको र अहिले दाना प्रतिकिलो रु ६५ पर्दा अण्डाको मूल्य उस्तै रहेको उहाँको भनाई छ ।
औषधिलगायत अन्यमा पनि मूल्य दोब्बर भएको बताइएको छ । एक वर्ष छ महिनाअघि अण्डाको मूल्य प्रतिक्रेट रु चार सय पाँच पुगेर एकोहोरो ओरालो लागेको हो । त्यतिबेला खुद्रा मूल्य प्रतिगोटा रु १६ रहेको थियो । नेपालमा अण्डा उत्पादन गर्ने कृषक एवं व्यवसायी सङ्गठित भएर व्यवसाय बचाउन लागिपरेको बताइएको छ ।
हालै मात्र देशभरका धेरै कुखुरापालक व्यवसायी सङ्गठित भएर अघि बढेका हुन् । हाल नेपालमा दैनिक ४० लाख अण्डा उत्पादन हुँदै आएको छ । अण्डाको महत्व बुझाउन सकेमा अण्डाको माग दोब्बर हुने व्यवसायी बताउँछन् । बिचौलियाको चलखेललाई रोकेर कृषकको हितमा सरकार लाग्नुपर्ने व्यवसायीको भनाइ छ ।
सरकारले ध्यान नदिए आत्मनिर्भर पोल्ट्री व्यवसाय धरासायी हुन्छ । निजी क्षेत्रको अण्डा उत्पादनका लागि मात्र पोल्ट्री व्यवसायमा रु एक खर्बभन्दा बढी लगानी रहेको छ । यसको आधाभन्दा बढी बैंकको ऋण भएको व्यवसायी बताउँछन् ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.