अर्जेन्टिनाले विश्वकप फुटबल जितेको खुसियालीमा अर्जेन्टिना फ्यान क्लब चितवनले दीप प्रज्ज्वलन गरेको छ । चितवनमा रहेका अर्जेन्टिनाका समर्थकहरुले हिजो सोमबार साँझ भरतपुरको चौबिसकोठीमा दीप प्रज्ज्वलन र केक काटेर खुसियाली मनाएका हुन् ।
उक्त दीप प्रज्ज्वलन कार्यक्रममा क्लबका सल्लाहकार एवं वरिष्ठ फिजिसियन डा. भोजराज अधिकारीले चितवनका चारवटा सामुदायिक विद्यालयलाई खेलकुद सामग्री उपलब्ध गराउने घोषणा गर्नुभएको छ । उहाँले सम्पूर्ण अर्जेन्टिनी समर्थकको प्रतिनिधित्व हुने भरतपुर महानरपालिका र माडी नगरपालिकाबाट दुई–दुई विद्यालय छानेर कुल चारवटा सामुदायिक विद्यालयलाई वर्षभरिलाई पुग्ने खेलसामग्री उपलब्ध गराउने घोषणा गर्नुभएको हो ।
फुटबलमा केही सम्भावना बोकेका विद्यालयको छनोट गरी भरतपुर र माडीका दुई–दुई विद्यालयलाई फुटबल खेलसँग सम्बन्धित खेल सामग्री एक वर्षभरिलाई दिइने बताइएको छ । चर्चित फिजिसियन डाः अधिकारी गत प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचन लड्नुभएको थियो ।उहाँले चुनाव लडेको क्षेत्रमा माडी नगरपालिका र भरतपुर महानगरपालिकाका १९ वडा पर्छन् । उहाँले मेस्सीको जीवनबाट ‘संघर्ष जारी राख्नू’ र ‘हार कहिल्यै नमान्नू’ भन्ने शिक्षा लिन सक्ने भन्दै फुटबलमार्फत देश चिनाउन सकिने सन्देश दिन लागेको बताउनुभयो ।
कार्यक्रममा उपस्थित नेपाल खेलकुद पत्रकार मञ्च चितवनका अध्यक्ष विनोदबाबु रिजालले मेस्सीले विश्वकप जित्दा अर्बौँ फुटबलप्रेमी खुसी भएको बताउनुभयो । उहाँले मेस्सीजस्तो फुटबलका जादूगरको खेल हेर्न पाउनु अहोभाग्य भएको भन्दै यसलाई मनोरञ्जनका रूपमा लिएको बताउनुभयो ।
सन् १९७८ र १९८६ मा विश्वकप जितेको अर्जेन्टिनालाई मेस्सीले ३६ वर्षपछि उपाधि जिताउन सफल भए । अर्जेन्टिनाले मेस्सीको प्रेरणादायी प्रदर्शनमा आइतबार राति भएको उपाधि भिडन्तमा साबिक विजेता फ्रान्सलाई पराजित गरेको थियो ।