प्रतिनिधिसभाका नवनिर्वाचित सांसदले आजै लिए शपथ, चार जना अनुपस्थित

प्रतिनिधिसभामा नवनिर्वाचित सदस्यले पद तथा गोपनीयताको शपथग्रहण लिएका छन् । उनीहरुलाई ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले संसद् भवनमा शपथ खुवाउनुभएको हो ।
नेपालको संविधानको धारा ८८ बमोजिम संघीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलोपटक भाग लिनुअघि सङ्घीय कानुनबमोजिम शपथ लिनुपर्ने व्यवस्था छ ।
सभामुख चयन हुनुअघि ज्येष्ठ सदस्यले प्रतिनिधिसभा सदस्यलाई शपथग्रहण गराउने व्यवस्था छ । ज्येष्ठ सदस्यलाई राष्ट्रपतिले शपथग्रहण गराएपछि अन्य सदस्यलाई शपथ गराउने प्रावधान छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबरालाई हिजो बुधबार नै पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो । प्रतिनिधिसभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रतिनिधिसभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरका हिसाबले ज्येष्ठ सदस्यले गर्ने संवैधानिक व्यवस्था छ ।

उक्त शपथ कार्यक्रममा नेकपा एसका प्रेम आले, माओवादी केन्द्रका महिन्द्रराय यादव, कांग्रेसका माया राई र माओवादीका रामकुमार राई लगायतका चारजना सांसद अनुपस्थित भएका छन् । अनुपस्थित महिन्द्रराय यादवको शपथ कार्यक्रम भने भोली शुक्रबार साढे ११ बजे सिंहदरबारमा तय गरिएको संसद् सचिवालयले जनाएको छ ।
२०७२ साल असोज ३ गते संविधान सभाबाट जारी भएको नेपालको संविधानअनुसार प्रतिनिधि सभाको यो दोस्रो कार्यकाल हो । प्रतिनिधिसभामा १२ वटा राजनीतिक दलहरुको प्रतिनिधित्व छ भने सात वटा दलले राष्ट्रिय दलको मान्यता पाएका छन् । प्रतिनिधिसभामा कांग्रेसका ८९, एमालेका ७८, माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपाका १२, एकीकृत समाजवादीका १०, जनमतका छ, लोसपाका चार, नागरिक उन्मुक्तिका तीन, जनमोर्चाका एक, नेमकिपाका एक र स्वतन्त्रका पाँच गरी दुईसय ७५ सांसद रहेका छन् ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.