दुई वर्षमा पचास वन्यजन्तुको उद्धार र उपचार

चितवनको सौराहामा रहेको वन्यजन्तु अस्पतालमा दुई वर्षमा ५० वन्यजन्तुको उद्धार र उपचार गरिएको छ । सन् २०२० देखि २०२२ को डिसेम्बरसम्मको अवधिमा चितवन राष्ट्रिय निकुञ्जका ५० वन्यजन्तुको उपचार गरिएको हो ।
राष्ट्रिय प्रकृति संरक्षण कोष तथा जैविक विविधता केन्द्र सौराहा कार्यालयसँगै रहेको अस्पतालले यो अवधिमा १६ वटा बाघ, पाँच वटा गैँडा, छ वटा हात्ती, सात वटा हरिण, तीनवटा निलगाई, तीन वटा मलाहा बिरालो, नौवटा बँदेल र एक–एक वनबिरालो र चरीबाघको उद्धार तथा उपचार गरेको छ ।
विभिन्न कारणले रोगी, बिरामी, असहाय, अशक्त तथा घाइते भएका वन्यजन्तुको उपचार तथा व्यवस्थापनका लागि अस्पतालले उपचार सेवा प्रदान गर्ने गरेको राष्ट्रिय प्रकृति संरक्षण कोष तथा जैविक विविधता केन्द्र सौराहाका प्रमुख डा बाबुराम लामिछानेले जानकारी दिनुभयो ।
अस्पतालबाट हात्तीसारमा रहेका सबै हात्तीको नियमित उपचार गर्ने गरिएको पशु चिकित्सक डा विजय श्रेष्ठले जानकारी दिनुभयो । हात्तीको नियमित नङ काट्नुका साथै नङको अवस्था र घाउ चोटपटकको नियमित उपचार गर्ने गरिएको उहाँको भनाई छ । अरु समस्याको उपचारका साथै हात्तीलाई थप भिटामिन र मिनरल्स दिइनुका साथै जुका र नाम्लेको औषधि पनि नियमित खुवाउने गरिएको बताइएको छ ।
वन्यजन्तु अस्पतालमा रोग पत्ता लगाउने प्रयोगशाला सहित एक्सरे र ‘अल्ट्रासाउण्ड’ मेसिनसमेत व्यवस्था छ । वन्यजन्तुको रगत, दूधको जाँच र पिसाब पनि सोही ठाउँमै जाँच गर्न सकिने बताइएको छ । विशेष गरेर साना वन्यजन्तुलाई अस्पतालमै उपचार गर्ने गरिएको छ । गत वर्षमात्रै धेरै हात्तीको ‘अल्ट्रासाउण्ड’ गरिएको डा श्रेष्ठको भनाई छ ।
ठूला घाइते र बिरामी जनावरलाई निकुञ्ज क्षेत्रमै पुगेर उपचार गर्ने गरिएको छ । अस्पताल स्थापनापछि वन्यजन्तुको रोग पहिचान र उपचारमा सहयोग भएको छ । घाइते वन्यजन्तुलाई एम्बुलेन्स राखेर ल्याउने गरेको जनाइएको छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार पूर्वाधार तयार भए पनि अस्पताल पूर्णरूपमा सञ्चालन ल्याउन सकिएको छैन । कार्यविधि तयार भएको भन्दै उहाँले यसलाई पूर्णता दिएर छिट्टै कार्यान्वयनमा ल्याइने जानकारी दिनुभयो । अस्पताल सञ्चालनका लागि वन्यजन्तु प्राविधिक र पशुचिकित्ससहित छ कर्मचारी खटाइएको छ ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.