चितवनको पर्यटकीय नगरी सौराहालाई बाढीबाट जोगाउन आधुनिक ड्याक निर्माणको काम भइरहेको छ ।
छ करोड ९८ लाखको लगानीमा दुईसय ८० मिटर ड्याक निर्माणको काम सुरु गरिएको हो । निर्माणको काम अहिलेसम्म ८५ प्रतिशत काम सम्पन्न भएको छ भने अबको १५ दिनभित्र बाँकी १५ मिटरको काम सकिने केबीसी बिल्डर्स कम्पनी प्रालिले जनाएको छ ।
रत्ननगरका मेयर प्रल्हाद सापकोटाले मुलुकको तेस्रो पर्यटकीय गन्तव्य सौराहालाई जोगाउन आधुनिक प्रविधिको ड्याक निर्माण गरिएको बताउनुभएको छ । लम्बाइ थोरै भएपनि राप्तीले कटान गर्ने ठाउँलाई जोगाउने गरी काम गरिएकोले अब कम्तीमा ५० वर्ष सौराहामा बाढी नपस्ने बताइएको छ ।
हरेक वर्ष असार र साउनमा व्यवसायीहरुको कारूणिक अवस्था देख्नुपर्ने भएकाले यही अवस्थाको अन्त्य गर्न स्थानीय सरकार लागिपरेको भन्दै मेयर सापकोटाले केन्द्रीय सरकारले विनियोजन गरेको बजेटलाई फ्रिज हुन नदिई कामलाई सार्थक बिन्दुमा पु¥याएको बताउनुभयो ।
सौराहालाई बाढीको जोखिमबाट जोगाउन राप्ती नदीमा आधुनिक प्रविधिको फेब्रिक मेटर्स कङ्क्रिट ढलानसहित ड्याक निर्माण कार्य भइरहेको छ । चितवन निकुञ्जको मुख्य प्रवेशद्वारबाट पूर्वतर्फ आधुनिक प्रविधिको ड्याक निर्माण गरिएको हो ।
सिमेन्ट र बालुवाको मसलालाई फेब्रिक कपडाभित्र हालेर ढलान गरिएको निर्माण कम्पनीका सञ्चालक होमकुमार शर्मा आचार्यले जानकारी दिनुभयो । यो नेपालमै पहिलो आधुनिक प्रविधिको ड्याक भएको भन्दै उहाँले कटान रोक्ने गरी पानीको सतहसम्म नै ढलान गरिएको बताउनुभयो ।
२०४९ र २०५९ सालमा आएको बाढीले सौराहा डुबानमा परेको थियो । २०७४ र २०७६ सालमा सोही ठाउँका ड्याक भत्काएर राप्ती नदीमा आएको बाढीले सौराहाका दुई दर्जन होटल र २० वटा रेस्टुरेन्ट बगाएको थियो । रत्ननगर नगरपालिकाका इन्जिनियर पंकज गिरीले बंगलादेशमा सफल भएपछि चितवनको सौराहामा पहिलोपटक यस प्रकारको ड्याक निर्माण गरिएको बताउनुभयो ।
हिजो सोमबार सो ड्याकको महत्व र निर्माणका विषयमा स्थानीय सरकार, चितवन निकुञ्ज, मध्यवर्ती क्षेत्र, राजनीतिक दल र सौराहाका होटल व्यवसायीबीच अन्तक्र्रियासमेत गरिएको थियो । कार्यक्रममा मेयर सापकोटा, उपमेयर यादवप्रसाद पाठक, निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य, रत्ननगरका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी, विज्ञ सल्लाहकार रामहरि न्यौपाने, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गानालगायतको सहभागिता रहेको थियो ।