पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन आइतबार गरिँदै

देशकै प्रमुख पर्यटकीय सहर पोखरामा नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलको भव्य उद्घाटनको तयारी गरिएको छ ।
यही पुस १७ गते आइतबार अङ्ग्रेजी नयाँवर्षको पहिलो दिनदेखि सो अन्तर्राष्ट्रिय विमानस्थलको विधिवत् सञ्चालनमा ल्याउन लागिएको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भव्य समारोहकाबीच विमानस्थलको उद्घाटन गर्नुहुनेछ ।
शुभारम्भ समारोहमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु, उद्योगी तथा पर्यटन व्यवसायीको बृहत् सहभागिता रहने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । विमानस्थल उद्घाटनको सम्पूर्ण तयारीका काम अन्तिम चरणमा पुगेको बताइएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण, प्रदेश सरकार, पोखरा महानगरपालिका, पोखरा पर्यटन परिषद्लगायत पर्यटन सङ्घ संस्थाको सहभागितामा उद्घाटन समारोह विशेष र भव्य हुने जनाइएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार विमानस्थल उद्घाटनका दिन बिहान पहिलो उडानबाट विमानस्थलमा अवतरण गर्ने जहाजका चालकदल तथा यात्रुलाई फूलमालाले स्वागत गरिने छ ।
त्यसैगरी बिहान ११ बजेपछि औपचारिक कार्यक्रम शुभारम्भ हुनेछ भने अपराह्न २ बजेपछि ‘सेलिब्रेसन’को कार्यक्रम छ । पोखरा महानगरपालिका र पोखरा पर्यटन परिषद्को समन्वयमा विभिन्न जातजातिका झाँकी, फेसन सोलगायतका कार्यक्रमका साथ उद्घाटन समारोहलाई भव्य बनाइने बताइएको छ ।
अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन कार्यक्रमलाई थप व्यवस्थित बनाउन पोखरा महानगरपालिकाले पनि काम सुरु गरेको छ । महानगर समरोह भव्य बनाउने गरी जुटेको छ । उद्घाटन समारोहपछि उत्सवको जिम्मा महानगरको छ ।
महानगरले विमानस्थल उद्घाटन समारोहलाई भव्य बनाउन विभिन्न जातजातिका मौलिका झाँकी अभिनन्दन कार्यक्रम, विभिन्न सांस्कृतिक प्रस्तुति र सेलिब्रेसन गरिने जनाएको छ । विमानस्थलका परिकल्पनाकार शङ्करराज पाठकलगायतलाई रथारोहणसहित अभिनन्दन गरिनेछ । महानगरले उद्घाटनलाई लक्ष्य गरी यही पुस १३ गते लेक साइडदेखि कोत्रेसम्म राजमार्गमा बृहत् सरसफाइ कार्यक्रम गरेको थियो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पोखराका लागि गौरवको विषय भन्दै यसको उद्घाटन कार्यक्रमलाई व्यवस्थितरूपमा भव्य र सभ्य बनाउनुपर्ने बताइएको छ ।
उद्घाटन समारोहलाई भव्य बनाउने गरी महानगरले काम गरिरहेको छ । यसका लागि विभिन्न उपसमिति गठन भएका छन । विमानस्थलको उद्घटनका दिनदेखिनै सबै आन्तरिक उडान सोही विमानस्थलबाट हुनेछन ्। निजी विमान कम्पनीले नयाँ विमानस्थलबाट उडान सुरु गर्नका लागि कार्यालय व्यवस्थापन लगायत तयारी सकेका छन् । बुद्ध, यति र सौर्य एयरले परीक्षण उडानसमेत सम्पन्न गरेका छन् ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि पोखरेलीले झण्डै पाँच दशकअघि सपना देखेका थिए । लामो प्रतीक्षापछि विमानस्थल निर्माण भएर सञ्चालनको अवस्थामा आउँदा पोखेरेली हर्षित छन् । यसबाट पोखराको समृद्धिको ढोका खुल्ने अपेक्षा यहाँका नागरिकको छ । पोखरा देशकै प्रमुख पर्यटकीय गन्तव्य भएको र विमानस्थल सञ्चालनसँगै पर्यटन क्षेत्रले बढी लाभ लिने भएकाले समेत पर्यटन व्यवसायी उत्साहित भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनुभयो । कोरोनापछि प्रभावित पर्यटन क्षेत्रलाई विमानस्थल सञ्चालनसँगै पर्यटक आगमन बढेर राहत मिल्ने विश्वास रहेको बताउँदै श्रेष्ठले विमानस्थल सञ्चालनमा आउने भएपछि हामी व्यवसायी, लगानीकर्ता सबै हर्षित भएको बताउनुभयो । पर्यटन क्षेत्रलाई ठूलो राहत मिल्ने विश्वास लिएको उहाँको भनाई छ । अन्तर्राष्ट्रिय विमानस्थलसँगै पोखराको प्रवद्र्धन विश्वभर फैलाउने र धेरै पर्यटक भित्र्याउने योजना बनाइएको छ ।पोखरा विमानस्थल चिनियाँ निर्माण कम्पनी सीएएमसीइले निर्माण गरेको हो । यसअघि गत वर्ष चैतमा चीनका विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणकै अवसरमा विमानस्थल नेपाललाई हस्तान्तरण गरिएको थियो । त्यसबेला विमानस्थलको केही काम सम्पन्न हुन बाँकी थियो ।
चीनको एक्जिम बैंकको रु २२ अर्ब सहुलियतपूर्ण ऋण र अनुदान सहयोगमा विमानस्थल निर्माण गरिएको हो । विसं २०३२ मा जमिन अधिग्रहण गरिए पनि चार दशकपछि बल्ल विसं २०७३ मा विमानस्थलको शिलान्यास गरिएकामा विसं २०७४ देखि निर्माण सुरु भएको हो ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.