गरिबी निवारणको लागि पञ्चकन्या सामुदायिक वनले पर्यापर्यटनमा जोड दिँदै आएको छ । सौराहा क्षेत्रमा आउने जुनसुकै देशका पर्यटकलाई पनि सामुदायिक वनप्रति आकर्षित गराउने लक्ष्यसहित पञ्चकन्याले विभिन्न खालका प्रयास गर्दै आइरहेको छ । विशेषतः मनिखोला पार्कलाई व्यवस्थित बनाउने र टिकौलीदेखि मनिखोला पार्कसम्मको साइकल मार्ग निर्माण गरिएको वनका अध्यक्ष कृष्णप्रसाद बगालेले जानकारी दिनुभयो ।
पञ्चकन्यामा बाघ, गैँडालगायतका चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पाइने सबै खालको वन्यजन्तु प्रशस्तै रहेको हुँदा तिनीहरुको व्यवस्थापनमा मात्रै ध्यान दिने हो भने आन्तरिक तथा बाह्य पर्यटकलाई सामुदायिक वन घुमाउन सकिने बताइएको छ । हाल मनिखोला पार्कमा मात्रै सीमित भइरहेको छ । जाडोको मौसममा वनभोज आउने र सानोदेखि ठूलो पर्दासम्मका विभिन्न भिडियो छायाङ्कनको काम भइरहेको छ ।
त्यसबाहेक क्षेत्र फराकिलो बनाउन विभिन्न प्रयास गरिरहेको जनाइएको छ । पार्कलाई व्यवस्थित बनाउन सके डिभिजन वन कार्यालयसँगको सल्लाह तथा सुझावअनुसार साइकल मार्ग सञ्चालन गर्न सकिनेछ । हाल टिकौली चौरको खगेरी खोलातर्फको किनार भागमा कृष्णसार राख्नको लागि बासस्थानको समेत व्यवस्थापन भइरहेको जनाइएको छ । बाघबाट बचाउनको लागि सुरक्षित तारजाली र खानेपानीको व्यवस्थापन भइसकेको छ । यही वर्षभित्र १० वटा कृष्णसार ल्याउने तयारी भइरहेको जनाइएको छ । योजनामा रहेका केही संरचना निर्माणबाहेक सामुदायिक वन आफैँमा सुन्दर रहेको हुँदा त्यसलाई व्यवस्थितमात्रै बनाउन सके राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकको लागि पञ्चकन्या सामुदायिक वनसमेत घुम्न योग्य हुने वनले जनाएको छ । मनिखोला पार्कमा आकर्षक पोखरीसमेत रहेको हुँदा त्यसैको व्यवस्थापनको लागि अहिले पनि उपाध्यक्ष यज्ञबहादुर धमलाको संयोजकत्वमा काम भइरहेको छ ।
यो सामुदायिक वन वन्यजन्तुको समेत धनी वन भएकाले वन्यजन्तुको बासस्थान व्यवस्थापनको लागि दस हेक्टर प्याउली चौरलाई घाँसेमैदान बनाइएको छ । वन्यजन्तुलाई बस्ती प्रवेशमा रोक लगाउनको लागि पनि यो काम गर्नैपर्ने उत्तिकै चुनौती रहेको बगालेको भनाई छ । सामुदायिक वनमा त्यसबाहेक क्यामुना घोल, जमुना घोल र सालघारीभित्र पोखरीसमेत निर्माण गरिएको छ । वनभित्रै घाँसे मैदान र पानी पोखरी निर्माण गरिँदा वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनीकरणमा टेवा पुगेको बताइएको छ । त्यतिमात्र नभई सामुदायिक वनको बस्तीतर्फको पाँच किलोमिटर खुला सिमाना रहेकामा चार किलोमिटर क्षेत्रमा व्यवस्थित तारजाली निर्माण भइसकेकोले त्यसबाट पनि मानव र वन्यजन्तुबीचको द्वन्द्वमा कमी आएको छ ।
त्यस्तै गरी, पञ्चकन्या सामुदायिक वनको वनभोजस्थल मनिखोला पार्क वनभोज आउनेहरुको आकर्षणको केन्द्र बनेको छ । मौसम नै वनभोजको भएकोले पनि यहाँ आउनेको संख्या बढी छ । शनिबार र सार्वजनिक बिदाका दिनमा पार्कको क्षमताभन्दा बढी समूह आइदिँदा कतिपयलाई छिमेकी सामुदायिक वनमा पठाउन बाध्य भएको वन समितिले जनाएको छ । मनिखोला पार्कमा एकपटकमा दर्जन बढी स्टल छन् । हालको मौसममा सार्वजनिक बिदाको दिनबाहेक पनि दुई चार समूह आइरहेका छन् ।
बजारी क्षेत्रबाट नजिकको दूरीमा पर्नुका साथै पार्कभित्रै पोखरीमा डुंगा सयर गर्न पाउने भएकोले पनि आन्तरिक पर्यटकको चहलपहल तुलनात्मकरुपमा बढी नै देखिएको वनका उपाध्यक्ष एवम् मनिखोला पार्क व्यवस्थापन समितिका संयोजक यज्ञबहादुर धमलाले जानकारी दिनुभयो । पार्कलाई अझै व्यवस्थित बनाउन काम भइरहेको समेत बताइएको छ । यो सामुदायिक वन १९८.९३ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।
पर्यापर्यटनमा जोड दिँदै पञ्चकन्या वन ः जङ्गलभित्रै साइकल मार्ग सञ्चालन गर्ने तयारी