भारतबाट आइतबार मात्रै इन्धनको मूल्य बढेर आए पनि नेपाल आयल निगमलाई भने आगामी पाक्षिक (१५ दिन)मा ९९ करोड रुपैयाँ नाफा हुने भएको छ । हालको खपतअनुसार समग्र पेट्रोलियम पदार्थमा सो नाफा रहने निगमले जनाएको छ । निगमलाई हाल पेट्रोलमा प्रतिलिटर करिब १५ रुपैयाँ तथा डिजेलमा सात रुपैयाँ नाफा छ । खाना पकाउने ग्यासमा भने निगम घाटामा छ ।
पहिलेको सञ्चित नोक्सानी रहेकाले निगमले हाललाई मूल्य यथावत राख्ने जनाएको छ । भारतीय आयल कर्पोरेसनलाई भुक्तानी गर्नुपर्ने रकम, पुरानो बक्यौता एवम् सरकारलाई तिर्नुपर्ने ऋण समेत गरी अझै करिब १८ अर्ब तिर्न बाँकी रहेको अवस्थामा समेत निगमले पेट्रोलियम पदार्थको आपूर्ति प्रणालीलाई व्यवस्थित गर्दै आइरहेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य घटबढ भइरहेकाले पेट्रोलियम पदार्थको आपूर्तिलाई निरन्तता दिन र ऋणको व्यवस्थापनका लागि अझै चुनौतिपूर्ण अवस्था रहेको निगमले जनाएको छ । नयाँ सूचीअनुसार भारतबाट पेट्रोलको भाउ प्रतिलिटर दुई रुपैयाँ ५४ पैसा, डिजेलमा दुई रुपैयाँ ९५ पैसा, हवाई इन्धनमा चार रुपैयाँ १३ पैसा र ग्यासमा प्रतिसिलिन्डर ७८ रुपैयाँ २२ पैसा बढेर आएको छ । निगमलाई भारतबाट १५ ÷१५ दिनमा नयाँ मूल्यसूची आउने गरेको छ । सो सूचीअनुसार नेपालमा समायोजन गर्नुपर्ने भए पनि हुन सकेको छैन ।
१५ दिनमा आयल निगमलाई भयो ९९ करोड नाफा