भरतपुरका सन्तोष न्यौपाने भारतको सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयमा प्रथम हुनुभएको छ ।
भरतपुर महानगरपालिका–२५ शुक्रनगरका सन्तोषले ज्योतिष संकायतर्फ स्नातकोत्तर (आचार्य) मा सर्वाधिक अंक प्राप्त गर्नुभएको हो । फलित ज्योतिषमा एक हजार तीनसय ४४ अंक ल्याउनुभएका उहाँ ज्योतिष शास्त्रमानै सबै भन्दा धेरै नम्बर ल्याउने विद्यार्थी बन्नुभयो ।
विश्वविद्यालयको ४०औं दिक्षान्त समारोहमा उहाँलाई विश्वविद्यालयसँगै फलित ज्योतिषमा उत्कृष्ट बनेको भन्दै दुई वटा स्वर्ण पदकले सम्मान गरिएको थियो । सामान्य किसान परिवारमा हुर्किनुभएका न्यौपानेले नेपालमा एसएलसी पासपछि भारतमानै गएर संस्कृत पढ्नुभएको थियो । उत्कृष्ट बनेसँगै सन्तोष पिएचडीको तयारीमा लाग्ने बताउनुभएको छ । उहाँले संस्कृत र संस्कृतिको विकासका लागि सधै कृयाशिल रहने बताउँदै सनातन संस्कृति रक्षार्थ सबै नेपालीलाई एकजुट हुन आग्रहसमेत गर्नुभएको छ ।
स्नातक (शास्त्री) तहमा १२ कम हुँदा उहाँ मेडलबाट चुक्नुभएको थियो । यद्यपि अहिले उनै सन्तोष आफ्नो प्रतिस्पर्धी भन्दा एकसय ४७ नम्बर बढी ल्याउँदै विश्वविद्यालय प्रथम बनेका हुन् । सन्तोषको शुक्रनगरमा बुबा र आमा हुनुहुन्छ । पाँच दिदीको विवाह भइसकेको छ । ज्योतिषी क्षेत्रलाई केवल आर्थिक आम्दानी मात्रको लागि प्रयोग नगरी यो प्राचीन विज्ञानलाई विश्वसामु परिचित बनाउने लक्ष्य उहाँको छ । १३ वर्षको उमेरमा घर छाडनुभएका सन्तोष तीन वर्ष दाङमा अध्ययन गरेपछि त्यहाँबाट एसएलसी पास गरेर भारतको बनारस गएर उच्च शिक्षा लिनुभएको हो । सन् १७९१ मा स्थापना भएको यस विश्वविद्यालय भारतको प्राचिन मध्येको एक विश्वविद्यालय हो । यहाँ भारतसहित नेपाल, थाइल्याण्ड, बर्मालगायतका देशबाट विद्यार्थीहरु पढ्न आउँछन् । उहाँसँगै नवलपुर दलदलेका कृष्ण भूर्तेलले नब्बे न्याय र बाजुरा बडिमालिकाका सिद्धराज उपाध्यायले पुरान इतिहासमा एक÷एक स्वर्ण पदक प्राप्त गर्दै विश्वविद्यालय प्रथम बनेका छन् ।