चितवनको रत्ननगरका विद्यालयहरुमा एक करोड तीन लाख रुपैयाँ बेरुजु रहेको छ ।
नगरकार्यपालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयहरुका प्रधानाध्यापकस्तरीय बैठकमा सरकारी विद्यालयमा बेरुजु बढेको भन्दै नगरप्रमुख प्रल्हाद सापकोटाले चिन्ता व्यक्त गर्नुभएको छ । विद्यालयले समयमै बिल पेस नगर्दा महालेखाले एक करोड तीन लाख रुपैयाँ बेरुजु औँल्याएको उहाँको भनाइ छ ।
उक्त बैठकमा नगरप्रमुख सापकोटाले विद्यालयहरुमा नियमित हाजिर नगर्ने, सार्वजनिक खरिद प्रक्रिया नअपनाउने, भुक्तानी भइसक्दासमेत बिल भर्पाइ फछ्र्योट नगर्नेजस्ता समस्या देखिएकाले यस्तो प्रवृत्ति अन्त्य गर्न प्रधानाध्यापकहरुलाई निर्देशन दिनुभयो । रत्ननगर नगरपालिकाले विद्यालयको हितमै काम गरिरहेकाले प्रशासनिक रूपमा कुनै पनि समस्या झेल्नु नपर्ने उहाँको भनाई छ ।
रत्ननगर नगरशिक्षा कार्यालयद्वारा आयोजित बैठकले सामुदायिक तथा संस्थागत विद्यालयहरुमा देखिएका समस्या समाधान गर्न निर्देशन दिइएको थियो । नगरपालिकाका उपमेयर यादवप्रसाद पाठकले विद्यालयको निर्माण कार्यमा विधि प्रक्रिया अपनाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो–‘भुक्तानी प्रक्रियामा चितवनमै हामी नमुना छौँ । कर्मचारीले दुःख दिएको भए गुनासो गर्नुस् । तर, समयमै काम गर्नुस् ।’
सबैभन्दा बढी बेरुजु विद्यालयमै देखिएकोले प्रशासनिक काममा चुस्तता अपनाउन आग्रह गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले विद्यालयहरुको शैक्षिक प्रगति सन्तोषजनक नरहेको र निर्माणका काम प्रभावकारी नभएकोबारे नगरपालिकाको ध्यानाकर्षण भएको बताउनुभयो । । विगतमा बेरुजु देखिने गरी काम भएको र अब अन्तिम रिपोर्ट पेश नगरेसम्म भुक्तानी नदिने उहाँको भनाई छ । उहाँले शिक्षक, कर्मचारी, वडाध्यक्ष र राजनीतिक दलको नेतालाई विद्यालय व्यवस्थापन समितिमा नराख्नसमेत निर्देशन दिनुभयो । संस्थागत कुराहरुलाई मनन गरेर अगाडि बढ्नसमेत उहाँले प्रधानाध्यापकलाई निर्देशन दिनुभयो ।
नगरशिक्षा अधिकारी बद्रीनारायण शर्माको अध्यक्षतामा सम्पन्न बैठकमा शर्माले विद्यालयहरुलाई समयमै कार्यसम्पादन गर्न, शिक्षक तथा कर्मचारीको तलब वितरण गर्न र आगामी दिनमा गुनासो नआउनेगरी प्रभावकारीरूपमा काम गर्न निर्देशन दिनुभयो । विद्यालयमा जुनसुकै समस्या आएमा नगरशिक्षा कार्यालय समन्वय गर्न तत्पर रहेको बताइएको छ । त्यस्तै बैठकले अब आउँदो माघ १४ देखि १६ गतेसम्म राष्ट्रिय रनिङशिल्ड प्रतियोगिता आयोजना गर्ने निर्णयसमेत गरेको छ ।