यातायात व्यवस्था कार्यालय चितवन विरुद्ध सद्गुरु ड्राइभिङ ट्रेनिङ सेन्टरले सर्वोच्च अदालतमा रिट हालेको छ ।
चितवनमा नै सवारी चालक अनुमति पत्र (लाइसेन्स)को प्रयोगात्मक परीक्षा लिनको लागि कार्यालयले महालक्ष्मी ट्रायल सेन्टर छनौट गरेपछि सद्गुरु ड्राइभिङ ट्रेनिङ सेन्टरले सर्वाेच्चमा रिट हालेको हो ।
यसअघि ट्रायल सेन्टरको प्राविधिक मूल्यांकनका क्रममा चितवन ड्राइभिङ सेन्टरले निश्चित ट्रायल सेन्टरलाई आधार मानेर मापदण्ड बनाएको भन्दै सर्वाेच्चमा रिट हालेको थियो । सर्वोच्चले चितवन ड्राइभिङ सेन्टरको रिट खारेज गर्दै बाँकी प्रक्रिया अगाडि बढाउन आदेश दिएको थियो । त्यसपछि महालक्ष्मी र सद्गुरुको आर्थिक प्रस्ताव मूल्यांकन गरिएको हो । आर्थिक प्रस्तावको मूल्यांकनप्रति असन्तुष्टि जनाउँदै सद्गुरु सर्वाेच्च गएको हो ।
आर्थिक प्रस्तावमा सद्गुरु ड्राइभिङ्ग ट्रेनिङ सेन्टरले एक पैसा र महालक्ष्मी ट्रायल सेन्टर प्रालिले शून्य रुपैयाँमा नै सेवाग्राहीलाई ट्रायल परीक्षा लिन दिने कुरा उल्लेख गरेको यातायात कार्यालय चितवनका लेखा अधिकृत सम्राटमणी अधिकारीले जानकारी दिनुभयो । मूल्यांकन समितिले उक्त प्रस्तावमाथी मुल्यांकन गर्दा महालक्ष्मीले दिने निशुल्क सेवालाई प्राथमिकता दिएको उहाँको भनाई छ ।
गत पुस ६ गते देखि १२ गतेसम्म कान्तिपुर राष्ट्रिय दैनिकमा महालक्ष्मी ट्रायल सेन्टरलाई लाइसेन्स ट्रायल सेन्टर बनाउने निर्णय विरुद्ध निवेदन दिन पाइने सूचना प्रकाशन गरेकाले सोही आधारमा सद्गुरुले यातायात कार्यालयमा छ गते नै निवेदन दिएको बताइएको छ । त्यसमा आफूहरुले १२ गते जवाफ फर्काएको अधिकारीको भनाई छ । सर्वाेच्चले स्टे अर्डरको आदेश दिएमा कार्यालयले लाइसेन्स वितरणको बाँकी प्रक्रिया अगाडि बढाउन पाउने छैन ।
महालक्ष्मी ट्रायल सेन्टरसँग गत पुस १७ गते सम्झौता भइसकेको छ । उक्त सम्झौता अनुसार ट्रायल सेन्टरले ट्रायल लिनेबेला प्रशिक्षार्थीसंग पैसा नलिने बताएको छ । सेवाग्राहीले आफुखुसी सिक्ने बेलामा ट्रायल सेन्टरले छुट्टै शुल्क लिन पाउने बताइएको छ ।
अहिले यातायात व्यवस्था कार्यालयमा नयाँ लाइसेन्स र नविकरण फाँटको लागि अस्थायी (टिनको टहरा) संरचना बन्दै छ । उक्त टहरामा छ वटा कोठा बनाउने तयारी भइरहेको बताइएको छ । उक्त फाँट सञ्चालनको लागि विभागबाट कार्यालयको पहलमा कोटा खोल्ने काम हुनेछ । बढिमा एक महिनाभित्र यातायात कार्यालयको नयाँ भवन (जिल्ला समन्वय समितिको कार्यालय) अगाडिबाट सेवा सञ्चालन हुने बताइएको छ ।