प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले निधनपछि आफ्नो शरीरका सबै अङ्ग दान गर्ने घोषणा गर्नुभएको छ । आज शुक्रवार बिहान प्रज्ञा भवन कमलादीमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले एक हजार वटा मिर्गौला प्रत्यारोपण सम्पन्न गरेको उपलक्ष्यमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले आफ्नो मृत्युपछि शरीरका सबै अङ्ग दान गर्ने घोषणा गर्नुभएको हो ।
प्रम दाहालले भन्नुभयो, ‘डायलासिस सेवा सर्वसाधारणको पहुँचमा थिएन । यो महङ्गो भएकाले पनि आर्थिक अवस्था कमजोर भएका मिर्गौला रोगीले सेवा लिन गाह्रो थियो । केन्द्रले विपन्न रोगीलाई सहयोग होस् भन्ने हेतुले २०६९ चैत १६ गतेदेखि निःशुल्क डायलासिस सेवा पनि आरम्भ ग¥यो । केन्द्रमा मिर्गौला मात्र नभएर कलेजो पनि प्रत्यारोपण हुने गरेको छ । यसलाई थप आधुनिक र प्रभावकारी बनाउने हाम्रो जिम्मेवारी छ ।’
प्रधानमन्त्री दाहालले केन्द्र विस्तारका लागि जग्गाको आवश्यकता रहेकोले यसलाई सम्बोधन गर्ने बताउनुभयो ।
उहाँले आफु अघिल्लो पटक प्र्रधानमन्त्री हुँदा सल्लाघारीमा रहेको ९९ रोपनी जग्गा प्रत्यारोपण केन्द्रलाई दिने निर्णय गराएपनि त्यो निर्णय लागू नभएको हुनाले त्यसलाई पनि सम्बोधन गरिने बताउनुभएको छ । प्रधानमन्त्री प्रचण्डले नेपालमा प्रत्यारोपणको व्यवस्था नहुँदा विदेशमा गएर ठूलो धनराशी खर्च गरेर मिर्गाैला प्रत्यारोपण गर्नुपर्ने अवस्था रहेकोमा त्यो अवस्थालाई धेरै हदसम्म रोक्न यस केन्द्रले भूमिका खेलेको बताउनुभएको छ ।
राष्ट्रिय प्रत्यारोपण केन्द्रले मात्रै प्रत्यारोपणको भार धान्न नसक्ने हुनाले यस केन्द्रलाई देशभर तत्काल विस्तार गर्नुपर्ने आवश्यक रहेको दाहालको भनाई छ । साथै ७ वटै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्ने लक्ष्य लिएको बताइएको छ ।