होटल रेस्टुरेन्टले लिँदै आएको १० प्रतिशत सेवा शुल्क सर्वोच्चद्वारा खारेज

होटल, रेस्टुरेन्ट तथा अन्य सेवा प्रदायकले ग्राहकबाट लिने गरेको १० प्रतिशत सेवा शुल्क खारेज भएको छ । हिजो बुधवार सर्वोच्च अदालतले उक्त चार्ज अमान्य भएको भन्दै खारेज गरिदिएको हो । अदालतको संवैधानिक इजलासले उक्त सेवा शुल्क लिने गरी बनेको श्रम ऐनको केही प्रावधान संविधानसँग बाझिएको भन्दै अमान्य घोषित गरेपछि सेवा शुल्क खारेज भएको हो । बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासबाट होटल, रेस्टुरेन्ट, मोटल, ट्राभल एजेन्सी लगायतका सेवा प्रदायकले लिने सर्भिस चार्जलाई गैरकानुनी घोषित गर्दै सर्वोच्चले त्यस्तो व्यवस्था तत्कालै हटाउन परमादेश समेत जारी गरेको छ ।
कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डाः आनन्दमोहन भट्टराई र न्यायाधीश अनिलकुमार सिन्हाको संवैधानिक इजलासले सामूहिक सौदाबाजीमा ग्राहक वा उपभोक्तासँग सेवा शुल्क लिई बाँडफाँड गर्ने श्रम ऐन, २०७४ को दफा ८७ को उपदफा ३ तथा श्रम नियमावली, २०७५ को नियम ८२ संविधानको धारा ४४ तथा धारा ११५ सँग बाझिएको भन्दै ऐन र नियमावलीका उक्त व्यवस्था खारेज गरिदिएको हो । ऐन र नियमावलीमा रहेको व्यवस्था खारेज भएसँगै अब होटल, रेस्टुरेन्ट तथा अन्य सेवा प्रदायकले सेवा शुल्कका नाममा कुनै पनि रकम उठाउन पाउने छैनन् भने वस्तु वा सेवाको मूल्य कायम गर्दा पनि सम्पूर्ण खर्च जोडेर हुन आउने लगायतमा कानुनले तोकेको भन्दा बढी नाफा नराखी विक्री गर्नुपर्नेछ ।
सर्वोच्च अदालतबाट जारी भएको परमादेश सहितको फैसलामा २०७९ माघ ११ गतेदेखि नै लागू हुने गरी श्रम ऐन, २०७४ को दफा ८७ को उपदफा ३ तथा र श्रम नियमावली, २०७५ को नियम ८२ खारेज गरिदिएसँगै अब होटल रेस्टुरेन्ट तथा पर्यटनसँग सम्बन्धित संघ संस्था वा अन्य सेवा दिने कम्पनी वा संस्थाले सेवा शुल्क लिन नपाउने भएका छन् । यसअघिसम्म विभिन्न होटल, रेस्टुरेन्ट तथा मुख्यतः पर्यटनसँग सम्बन्धित संघ र संस्थाले १० प्रतिशत सेवा शुल्क लिने गरेका थिए ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.