नेपाल क्रिकेट संघ क्यानले करारमा राख्ने महिला क्रिकेटरको संख्या घटाएको छ । यसअघि पुरुष र महिला दुवैतर्फ १८ जना खेलाडीलाई करारमा राखेको भए पनि यसपालि भने करारमा छ महिला खेलाडी कटौती गरिएको छ ।
पोखरामा बसेको क्यानको बोर्ड बैठकले १८ जना पुरुष खेलाडी र १२ महिला खेलाडीलाई छ महिनाका लागि करारमा राख्ने निर्णय गरेको छ । क्यानको करारमा परेका महिला खेलाडीमा ग्रेड ए र बी मा समान तीन जना रहेका छन् भने ग्रेड सी मा छ जना रहेका छन् । ग्रेड एमा कप्तान रुविना क्षेत्रीसहित सीता राना मगर र इन्दु बर्मा कायम छन् । त्यस्तै गरी काजल श्रेष्ठ बी मा घटुवा हुँदा अस्मिना कर्माचार्य सी बाट बी मा बढुवा हुनुभएको छ । कविता कुँवर बी ग्रेड मै यथावत हुनुहुन्छ भने ज्योती पाण्डे र अप्सरी बेगम ग्रेड सीमा घटुवा हुनुभएको छ । त्यस्तै कविता जोशी, विन्दु रावल, संगिता राई र ममत चौधरी ग्रेड सी मा नै यथावत रहनुभएको छ ।
यसअघि ग्रेड एमा रहनुभएकी करुणा भण्डारी, ग्रेड बीमा रहनुभएका सबनम राई, सरस्वती चौधरी र सरिता मगर तथा ग्रेड सीमा रहनुभएका डली भट्ट र रोमा थापा ग्रेडिङबाट बाहिरिनुभएको छ । फिटनेश लगायतका आवश्यक मापदण्ड पूरा नगरेका कारणा यसपटक करारमा रहने महिला खेलाडीको संख्या घटेको क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले जानकारी दिनुभयो ।
महिलातर्फ ए ग्रेडमा परेमा खेलाडीले मासिक २१ हजार रुपैयाँ, बीमा रहेकाले १८ हजार र सीमा रहेकाले १५ हजार रुपैयाँ पाउँछन् । पुरुषतर्फ भने ग्रेड एमा परेका खेलाडीले ६० हजार, ग्रेड बीमा रहेका खेलाडीले ५० हजार र ग्रेड सीमा रहेका खेलाडीले मासिक ४० हजार रुपैयाँ पाउने छन् ।