राष्ट्रिय जनमोर्चाले अब आउँदो वैशाख १० गते चितवन क्षेत्र नं २ मा हुने उपनिर्वाचनमा भाग लिने निर्णय गरेको छ । हिजो मंगलबार पार्टी अध्यक्ष चित्रबहादुर केसीको अध्यक्षतामा बसेको संसदीय बोर्डको बैठकले उपनिर्वाचनमा भाग लिने निर्णय गरेको हो ।
सो निर्वाचन क्षेत्रबाट रास्वपाका रवि लामिछानेले चुनाव लड्ने तयारी गरेपछि जनमोर्चाले पनि लामिछानेविरुद्ध उम्मेदवारी दिने तयारी गरेको हो ।
बैठकपछि राष्ट्रिय जनमोर्चाले एक विज्ञप्ति जारी गरेको छ । उक्त विज्ञप्तिमा भनिएको छ–‘चितवन जिल्ला निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनलाई नेपालमा बढ्दो अमेरिकी साम्राज्यवादको प्रभाव, इसाईकरण तथा पश्चिमाहरूको स्वार्थपूर्तिका लागि नेपालमा खोलिएको “स्वतन्त्र” पार्टीको भूमिकालाई भण्डाफोर गर्नका लागि उपनिर्वाचनलाई संघर्षको महत्वपूर्ण मञ्चको रूपमा अगाडि बढाउने निर्णय गरेको छ’, ।
सबै साम्राज्यवादी शक्तिहरूका हर्कतका विरुद्ध निर्वाचनलाई भण्डाफोरको रूपमा उपयोग गरिने सो पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।