चितवनका पाँचहजार चारसय जना किशोरीलाई क्यान्सरविरुद्धको खोप

चितवनका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ह्युमन पापिलोमा भाइरस (एचपीभी) लगाइएको छ ।
अस्पतालले विद्यालयमा अध्ययनरत ११ देखि १३ वर्ष उमेर समूहका किशोरीका लागि खोप अभियान सञ्चालन गरी अहिले पाँच हजार चार सय जनालाई खोप लगाइसकिएको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका क्यान्सर रोग निवारण शाखाका डा. अस्मिता राणाल जानकारी दिनुभयो ।
यो वर्ष छ हजार किशोरीलाई लगाउने लक्ष्य छ । अहिलेसम्म छ सय जनालाई खोप लगाइएको छ । अस्पतालले माडी नगरपालिका र भरतपुर महानगरपालिकाभित्रका चार हजार किशोरीलाई खोप लगाइसकेको छ । रत्ननगर नगरपालिकाका दुई हजार किशोरीलाई खोप लगाउने तयारी गरिएको छ ।
खोपका सम्बन्धमा रत्ननगर नगरपालिकाभित्रका सामुदायिक २९ र संस्थागत २७ विद्यालयका प्रधानाध्यापक, प्राचार्य र स्वास्थ्य शिक्षा अध्यापन गराउने शिक्षक–शिक्षिकाका लागि अभिमुखीकरण कार्यक्रम गरी खोप कार्यक्रम सञ्चालन गरिने भएको छ । विश्व स्वास्थ्य सङ्गठनले खोपबारे चासो देखाएका कारण नेपाल सरकारले सन् २०२३ देखि राष्ट्रिय खोप नीतिमा समावेश गर्न लागेको छ ।

यो एचपीभी खोप लगाएपछि भाइरसको सङ्क्रमणबाट बचाउने बताइएको छ । डा. राणाका अनुसार यो खोपले पाठेघरको मुखको क्यान्सरको मात्र नभई योनी, मलद्वारको क्यान्सर, मुखको क्यान्सरबाट समेत बचाउँछ । पाँचदेखि १२ महिनाको फरकमा दुई पटक खोप लगाउनुपर्ने उहाँले जानकारी दिनुभयो । विश्वका धेरै देशमा लगाइएको यो खोपको ‘साइड इफेक्ट’ छैन । धेरैसँग असुरक्षित यौन सम्पर्क गरेमा, सानै उमेरमा विवाह भएमा वा सानै उमेरदेखि यौनजन्य क्रियामा सहभागी भएमा, सानै उमेरमा बच्चा जन्माएमा, धेरै बच्चा जन्माएमा, पटक–पटक गर्भपतन गराएमा, धूमपान गरेमा, लामो समयसम्म हार्मोनयुक्त परिवार नियोजनका साधन प्रयोग गरेमा पाठेघरको मुखको क्यान्सर हुन सक्ने राणाले बताउनुभयो । क्यान्सरसम्बन्धी अध्ययनले पाठेघरको मुखको क्यान्सर एचपीभी खोप लगाउँदा ९० प्रतिशत जतिले घटाउने अध्ययनले देखाएको छ । यो क्यान्सर विश्वभरका महिलामा धेरै लाग्नेमा चौथो नम्बरमा पर्छ । नेपालमा भने फोक्सोको क्यान्सर एक नम्बरमा रहेको बताइएको छ ।

नेपालमा हरेक वर्ष १० हजार पाँचसय १६ जना क्यान्सरका नयाँ रोगी थपिने गरेको क्यान्सर अस्पतालले प्रकाशित गरेको पुस्तकमा उल्लेख गरिएको छ । तीमध्ये चार हजार नौसय ३९ पुरुष र पाँच हजार पाँचसय ७७ महिला रहेको तथ्याङ्कमा उल्लेख छ । जसमा पुरुषमा सबैभन्दा धेरै फोक्सो र मुटुको क्यान्सर देखिने गरेको छ भने महिलामा पाठेघरको मुख र स्तन क्यान्सर बढी देखिने गरेको छ । नेपालमा अस्वस्थ जीवनशैली, अस्वस्थकर खानपिन र व्यवहारका कारण ९० प्रतिशत र वंशाणुगत, आन्तरिक शक्ति कमजोर रहेका र जातीयताका कारण १० प्रतिशतमा क्यान्सर हुने गरेको क्यान्सर अस्पतालले जानकारी दिएको छ ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.