चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा अस्ति सोमबार उपचारका लागि आएका एक युवकको पेटमा सिसाको बोतल भेटिएको छ । रौतहटको गुजरा नगरपालिका–९, अमतबा टोलका २६ वर्षीय नुर्साद मन्सुरीको पेटमा सिसाको बोतल भेटिएको हो । उहाँ पेट फुलेको अवस्थामा अस्पताल आउनुभएको थियो । अस्पतालका चिकित्सकले शल्यक्रिया गरी मन्सुरीको पेटबाट बोत्तल निकालिदिएका छन् ।
मन्सुरीको उपचारमा संलग्न पुरानो मेडिकल कलेजका कन्सल्टेन्ट ल्याप्रोस्कोपिक तथा जीआई सर्जन डा नारायणप्रसाद बेलवासेले एक्सरे पश्चात अपरेशन कोठामा लगेर पेट चिरेर हेर्दा ठूलो आन्द्रा फुटेर बोत्तल बाहिर निस्केको अवस्थामा भेटिएको बताउनुभयो । बोत्तल निकालेर पेटलाई सफा गर्नुका साथै फुटेको भागलाई सिलाइ दिएको उहाँको भनाई छ । मन्सुरीको होस आइसकेको अस्पतालले जनाएको छ । मन्सुरीले साथीहरुसँग गएको अवस्थामा बेहोस भएपछि अन्य कुरा थाहा नभएको बताएको डा बेलवासेले जानकारी दिनुभयो । पहिले विरामीको अवस्था जटिल भए पनि शल्यक्रिया पश्चात सामान्य अवस्थामा आइसकेको छ ।
मलद्वारबाट बोत्तल छिराइएको बताइएको छ । बोतल कसरी भित्र गयो भन्नेमा आश्चर्यचकित भएको डा बेलवासेको भनाई छ । बेलवासेले भन्नुभयो–‘जानीजानी यस्तो गर्नु सोच्दै नसोचेको अवस्थाको गम्भीर अपराध हो । यस्तो केस पहिलो हो ।’
मन्सुरीलाई आइतबार बिहान अचानक पेट दुखेपछि उहाँका बुवा नेवाजी मन्सुरीले स्थानीय क्लिनिकबाट औषधि किनेर खुवाउनुभएको थियोे । तर त्यसले ठीक भएन । मुन्सरीको पेट निकै दुख्न थालेपछि उहाँलाई उपचारका लागि चन्द्रपुर अस्पतालमा भर्ना गराइयो । अस्पतालले तत्कालै पेटको एक्सरे गरायो । रिपोर्टमा पेटभित्र सिंगो रक्सीको बोतल देखेपछि चिकित्सक नै आश्चर्यमा परे र उनीहरुले थप उपचारका लागि भरतपुर रिफर गरे ।
पुरानो मेडिकल कलेजमा सबै चेकजाँचपछि त्यहाँ पनि उहाँको पेटमा सिसाको बोतल नै देखिएपछि डा. बेलवासे नेतृत्वको टोलीले करिब अढाई घण्टामा शल्यक्रिया गरी बोतल निकालेको हो ।
रौतहटका२६ वर्षीय मन्सुरीको पेटबाट रक्सीको बोत्तल निकालियो, चितवनमै सफल उपचार भएपछि मन्सुरी होसमा फर्किए !