बाँकी रहेका क्याम्पसमा चैत ३० गते स्ववियु चुनाव गर्न चार विद्यार्थी सङ्गठनबीच सहमति

चार विद्यार्थी सङ्गठनबीच त्रिभुवन विश्वविद्यालय (त्रिवि)का बाँकी रहेका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव यही चैत ३० गते गर्ने सहमति भएको छ । उनीहरुले चुनाव बिथोल्ने कुनै पनि गतिविधि नगर्ने प्रतिबद्धता जनाएका छन् ।
नेपाल विद्यार्थी सङ्घका अध्यक्ष दुजाङ शेर्पा, अनेरास्ववियुका अध्यक्ष समिक बडाल, अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष पञ्चा सिंह र अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले आज संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै यही चैत ५ गते स्ववियु चुनाव हुन नसकेका त्रिविका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा आगामी चैत ३० गते चुनाव गराउन सहमति गरेका छन् ।

सयुक्त रुपमा जारी गरिएको विज्ञप्तिमा भनिएको छ–“देशभरि चुनाव हुन बाँकी रहेका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा चुनाव गर्ने, चुनाव विथोलिने खालका गतिविधि नगर्ने र चुनाव भाँड्ने गरी कुनै पक्षबाट तालाबन्दी गरियो भने प्रशासनको सहयोगमा ताला तोडी चुनावी प्रक्रिया अगाडि बढाउन प्रतिबद्ध छौँ” । भर्ना विवादका कारण स्ववियु चुनाव रोकिएका क्याम्पसमा विवादित विषयमाथि सत्यतथ्य छानबिनका लागि अध्ययन र अनुगमन गर्न विश्वविद्यालयको केन्द्रीय अनुगमन समितिलाई अनुरोध गरी चुनाव प्रक्रिया अगाडि बढाउनसमेत उहाँहरुले माग गर्नुभएको छ ।

उपत्यकाका अमृत साइन्स, त्रिचन्द्र, पाटन संयुक्त क्याम्पस, विश्वभाषा, रत्नराज्य र नेपाल कमर्श क्याम्पसमा चुनाव प्रक्रिया रोकिएको छ । यस्तै उपत्यकाबाहिर पृथ्वीनारायण क्याम्पस, पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस, पोखरा नर्सिङ क्याम्पस, ठाकुरराम बहुमुखी क्याम्पस वीरगञ्ज, वीरेन्द्र बहुमुखी क्याम्पस चितवन, चितवन इन्जिनियरिङ क्याम्पस र सिद्धनाथ बहुमुखी क्याम्पसमा चुनाव गर्न बाँकी छ । यही चैत ५ गते १४ वर्षपछि त्रिविका अधिकांश क्याम्पसमा स्ववियु चुनाव सम्पन्न भएको थियो । केही क्याम्पसमा भर्ना र विद्यार्थी सङ्गठनबीच विवादका कारण चुनाव हुन सकेको थिएन ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.