प्रमुख राजनीतिक तीन दलको बैठकले प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आज सोमबार बसेको सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीचको बैठकले यस्तो निर्णय गरेको हो ।
उक्त तीन दलको बैठकले चाँडै संवैधानिक परिषद्को बैठक बसेर प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया अघि बढाउने सहमति गरेको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताउनुभयो ।
उहाँले लामो समयदेखि सर्वोच्च अदालतको कार्यभार नै कार्यवाहकबाट सञ्चालन भइरहेको भन्दै प्रधानमन्त्रीले चाँडै संवैधानिक परिषद्को बैठक बोलाएर स्थायी नियुक्तिको प्रक्रिया अघि बढाउने कुरामा सहमति जुटेको बताउनुभयो । बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता ओलीले संवैधानिक परिषद्को बैठक बोलाएर प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया सुरु गर्ने कुरामा सहमति जनाएको बताउनुभयो ।
संसद्को समितिहरु सञ्चालन र सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक टुङ्ग्याउने कुरामा छलफल भएको उहाँको भनाई छ ।