काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सिंहदरबारको फोहोर नउठाउने अडान लिएपछि सहरी विकास मन्त्रालयले फोहोर व्यवस्थापनको वैकल्पिक उपाय खोजेको छ । महानगरपालिकाले फोहोर नउठाउने भनेपछि तत्कालिन समाधानका लागि भन्दै मन्त्रालयअन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले फोहोर व्यवस्थापनका लागि परिवर्तन सेवा प्रालि नामक संस्थासँग सम्झौता गरी फोहोर उठाउन थालेको हो ।
मेयर शाहले फोहोर नउठाउने घोषणा गरेपछि महानगरपालिकाले सिंहदरबार क्षेत्रको फोहोर उठाएको छैन । त्यसयता सिंहदरबारको फोहोर परिवर्तन सेवा प्रालिले उठाइरहेको छ । महानगरपालिकाले फोहोर उठाउन छोडेपछि सहरी विकास मन्त्री सीता गुरुङले समस्या समाधान नहुञ्जेल वैकल्पिक उपायबाट फोहोर व्यवस्थापन गर्न संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयलाई निर्देशन दिनुुुुुुुभएको थियो ।
मन्त्रीस्तरीय निर्णयका आधारमा कार्यालयले परिवर्तन सेवा प्रालिसँग सम्झौता गरेर फोहोर उठाउन थालेको हो । ‘काठमाडौं महानगरपालिकाले संवैधानिक एवम् कानुनी प्रावधानविपरीत फोहोरमैला व्यवस्थापन गर्ने कार्यमा आफ्नो दायित्वबाट विमुख भई अवरोध सिर्जना गरेको अवस्थामा सिंहदरबार केन्द्रीय सचिवालय रहेको परिसर, अतिविशिष्ट र विशिष्ट पदाधिकारीहरुको निवास रहेको स्थानबाट फोहोरमैला उठाइ व्यवस्थापन गर्ने कामका लागि संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले परिवर्तन सेवा प्रालि नामक संस्थासँग सम्झौता गरी व्यवस्थापन गरिरहेको मन्त्रालयले जनाएको छ ।
नेपालको संविधानको अनुसूची ८ र आधारभूत सफाइ तथा फोहोरमैला व्यवस्थापन ऐन, २०६८ बमोजिम फोहोरमैलाको प्रबन्ध र व्यवस्थापन गर्ने दायित्व स्थानीय तहको हो । तर, काठमाडौं महानगरपालिकाले फोहोर मैला व्यवस्थापनका सन्दर्भमा संघीय सरकारले विगतमा भएका सहमति पालना नगरेको भन्दै फोहोरमैला व्यवस्थापन कार्य रोकेको छ । मन्त्री गुरुङले काठमाडौं महानगरपालिका आफ्नो जिम्मेवारीबाट पछि हटेको अवस्थामा सिंहदरबारलाई फोहोरबाट दुर्गन्धित हुन नदिन वैकल्पिक उपाय रोज्नुपरेको बताउनुभयो ।
उहाँले फोहोरमैला व्यवस्थापनलाई विषय बनाएर राजनीति गर्नु उपयुक्त नभएको समेत बताउँनुभयो । यो समस्या समाधानका लागि सम्बन्धित सबै निकायसँग समन्वय गरेर समस्या समाधानको प्रयास भइरहेको उहाँको भनाई छ ।
काठमाडौं महानगरपालिकाले काठमाडौं मात्रै होइन, उपत्यकाका १८ वटा स्थानीय तहहरूको फोहोर मैला व्यवस्थापनको नेतृत्व गर्दै आएको छ । यहाँको फोहोर काठमाडौं, धादिङ र नुवाकोटको सीमा क्षेत्रस्थित ककनी गाउँपालिकाको बञ्चरेडाँडामा लगेर डम्पिङ गर्ने गरिएको छ ।