नेपाली कांग्रेस संसदीय दलको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा उपचुनावमा पनि ठूला राजनीतिक दलप्रति नागरिकले चासो नदेखाएको बताउनुभएको छ ।
आज सोमवार संसद् भवनमा बसेको कांग्रेस संसदीय दलको बैठकमा सभापति देउवाले उपचुनावमा पनि ठूला पार्टीप्रति नागरिकको त्यति चासो नभएको देखिएको भन्दै पार्टीलाई सुधारेर जानुपर्ने आवश्यकता औँल्याएको बताउनुभएको हो । पार्टी सभापति देउवाले बैठकमा आउँदो वर्षको बजेट कसरी ल्याउने भन्नेबारेमा पनि सांसदहरूसँग चासो राखेको पार्टीका सांसद रामहरि खतिवडाले बताउनुभएको छ ।
बैठकमा सांसदहरूले छोटो समय देशको नेतृत्व गर्नुभएका वीपीपछि कांग्रेसबाट धेरै नेतृत्व र अर्थमन्त्री बने पनि नागरिकसँग जोडिने कार्यक्रम ल्याउन नसकेको गुनासो गरेका थिए । उनीहरूले आउँदो बजेटमा नागरिकका माग कसरी सम्बोधन गर्ने ? पुराना आयोजना सम्पन्न गर्ने र नयाँ आयोजना ल्याउने कुरामा विशेष जोड हुनुपर्ने धारणा राखेका सांसद खतिवडाले बताउनुभयो ।
सांसद खतिवडाले सांसदहरूले आउँदो बजेटमा प्रत्येक निर्वाचन क्षेत्रमा नागरिकले देख्ने कम्तीमा एउटा योजना, पालिकाको कार्यालयमा जाने बाटो कालोपत्र गर्ने, व्यवस्थित सहर, स्वास्थ्य र शिक्षा हरेक तहमा पुग्नुपर्ने गरी बजेट ल्याउनुपर्नेमा जोड दिएको बताउनुभयो ।