रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहाको समिपमा रहेको रत्ननगर वडा नं ९ सिसैमा सुविधा सम्पन्न पर्यटकीय रिसोर्ट सञ्चालनमा आएको छ । पूर्व पश्चिम राजमार्गबाट करिब २ किलोमिटर दक्षिण र सौराहाबाट करिब ५ किलोमिटर उत्तरमा सिसै पार्क भिलेज सञ्चालनमा आएको हो । बाग्लुङको हरिकृष्ण उपाध्याय र ललीतपुरका विष्णुहरि शर्मा सुवेदीले करिब २५ करोडको लगानीमा सुविधा सम्पन्न पर्यटकीय होटल सञ्चालनमा ल्याएका हुन् । गत बैशाख १ गतेबाट पर्यटकका लागि खुल्ला गरिएको सो रिसोर्टको औपचारिक उद्घाटन भोली पौष १५ गते अंग्रेजी नयाँ बर्षको अबसर पारेर गरिदै छ । बजारको कोलाहालबाट केही भित्र र पर्यटकीय नगरी सौराहाको समिपमा स्वदेशी तथा विदेशी पर्यटकलाई सेवा प्रदान गर्ने गरी होटल सञ्चालनमा ल्याइएको सञ्चालक उपाध्यायले बताए । सौराहाको चराचोकमा होटल सञ्चालन गर्ने योजनालाई स्थगित गरी सौराहाकै समिपमा रहेको सिसैमा रिसोर्ट सञ्चालनका ल्याएको उनको भनाई छ । सौराहामा होटल सञ्चालनकै लागि ३३ कठ्ठा जग्गा खरिद गरेका थियौं उपाध्यायले भने रिसोर्ट सञ्चालन गर्न शान्त बाताबरण चाहिने भएकाले सिसैमा आएका हौं । साढे १२ कठ्ठा क्षेत्रफलमा रिसोर्टको संरचना निर्माण गरिएको छ । उक्त रिसोर्टमा १२ वटा डिलक्स रुम, २ वटा हल, २ वटा अपाटमेन्ट तथा सेल्फ किचनको समेत व्यवस्था रहेको छ । पर्यटकका लागि आर्कषक स्मीङपुल सञ्चालनमा रहेको छ । उक्त रिसार्टमा विदेशी पर्यटकको समेत आगमन सुरु भएको छ । रमणीय बाताबरण भएका कारण एक पटक आएको विदेशी पर्यटक १५ दिन सम्म बसेर स्वदेश फर्र्किएको अर्का सञ्चालक सुवेदीले जानकारी दिए । रिसोर्टमा पारिवारिक वातावरणमा थारु समुदायको परम्परागत खानाका परिकारमा रमाउन सकिने उनको भनाई छ । रिसोर्टका म्यानेजर साजन जोशीले पर्यटकका लागि हात्ती सफारी, डुंगा सयर, जीप सफारी, चरा अबलोकन, थारु बस्तीको अबलोकन लगायत अन्य अतिरिक्त सेवाहरु रिसोर्टले प्रदान गर्ने बताए । खानामा गाउँले पन दिएका छौ, थारू खानाका परिकार बनाउछौं म्यानेजर जोशीले भने स्थानीय खानाको स्वाद पर्यटकलाई प्रदान गरेका छौं । ५० करोड सम्म लगानी गर्ने योजना रहेको सो रिसोर्टमा ६० जना पर्यटकलाई राख्न सक्ने क्षमता रहेको छ । भोली रिसोर्ट उद्घाटनसंगै पर्यटकको मनोरञ्जनका लागि विशेष साँस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको छ । उक्त कार्यक्रममा चर्चित गायिकाहरु इन्दिरा जोशी,ज्योती लोहनी सहित स्थानीय माइला घलेको न्याटिस व्याण्डको प्रस्तुती रहने छ । उक्त रिसोर्ट टिकौली नजिक रहेको गणेशचोकबाट करिब २ किलोमिटर दक्षिणमा रहेको छ ।
सौराहाको निकटमा पर्यटकीय सिसै पार्क भिलेज सञ्चालन
