रत्ननगर, पुस १७ । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत रत्ननगर-१० मा उद्यमशीलता विकास तालीम व्यवसाय सचेतना, व्यवसाय सुरु तथा लैंगिक सचेतना तालिम मंगलवारबाट सुरु भएको छ ।
रत्ननगर नगरपालिकाको आयोजनामा ८ दिने उद्यमशीलता विकास तालीम व्यवसाय सचेतना, व्यवसाय सुरु तथा लैंगिक सचेतना तालिम सुरु भएको हो । रत्ननगर-१० का वडा अध्यक्ष कलाधर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा रत्ननगर नगरपालिकाका नगर प्रमुख प्रलाद सापकोटा प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रममा बोल्दै नगर प्रमुख सापकोटाले गरिवी निवारणका लागि गरिएको यस कार्यक्रमले एउटा महत्वपूर्ण कार्य गर्ने र उद्यमशीलता विकास हुने बताए । तालिममा सिकेका सिपलाई तालिममा मात्र होइन व्यवहार ल्याउनुपर्नेमा उनले जोड दिए ।
उनले भने, हाम्रो काम भनेको घरमा बसेर मात्रै होईन हामी पनि कमाउन सक्छौं भन्ने हिसावले तालिमको आयोजना गरेका हौं, यस तालिमको भरपुर उपयोग गर्नुपर्छ ।
तालिम पश्चात उद्यम शीलता विकास क्षेत्रमा आबद्ध हुन चाहनेलाई बिना व्याजमा नगरपालिकाले लोनको व्यस्था गरिदिने नगर प्रमुख सापकोटाले प्रतिवद्धता जनाए । सबैभन्दा महत्वपूर्ण कार्य गर्नमा आफैं क्रियाशील हुनुपर्ने र तालिम लिएका सिपलाई दीर्घकालीनसम्म लागि उत्पादन बढाउन उनले आग्रह गरे ।
आर्थिक विकास समितिका संयोजक तथा रत्ननगर-३ का वडा अध्यक्ष सोहेन्द्र राज खरेलले सिकेका सम्पूर्ण ज्ञानहरुलाई व्यवहारीक जीवनमा उतार्न तालिममा सहभागीहरुलाई आग्रह गरे ।
रत्ननगर-१० का वडा अध्यक्ष पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वडा सदस्य सुदन भण्डारी, पूर्णीमा नेपाली वडा सचिव सुरेन्द्र चौधरी लगाएतको उपस्थिति थियो ।
कार्यक्रम संयोजक राम प्रसाद वस्ताकोटीले सञ्चालन गरेको कार्यक्रममा उद्यम विकाश समितिकी सदस्य सारदा न्यौंपानेले स्वागत मन्तव्य राखेकी थिईन् ।