रत्ननगर । वाताबरण तथा जलचरप्राणीको संरक्षणको लागि सोमबार राप्ती नदी सरसफाई गरिएको छ । लायन्स क्लव अफ कुमरोज र लियो क्लव अफ चितवन पर्साको सयुक्त आयोजनामा राप्ती नदी सरसफाई गरिएको हो । नदी प्रदुषणका कारण घडियाल गोही संकटमा परेपछि वाताबरण र जलचर प्राणीको संरक्षणको लागि राप्ती नदी सरसफाई गरिएको लायन्स क्लव अफ कुमरोजका अध्यक्ष सानुकाजी कुँवरले जानकारी दिए ।

कुमरोज सामुदायिक वनको दराई बोटे तालमा आयोजित एक औपचारिक कार्यक्रमका बीच चितवन निकुञ्जका रेन्जर अक्षम चौधरीले उद्घाटन गरेका छन् । सो अबसरमा कार्यक्रमका प्रमुख अतिथि चौधरीले मानवीय चापका कारण नदीमा बढ्दै गएको प्रर्दुषणले घडियाल लगायत जलचरप्राणीमा गम्भीर असर पुगेको बताए ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका रेन्जर ऋषि सुवेदीले संकटापन्न अबस्थामा पुगेको घडियाल गोहीको बासस्थान राप्ती नदी भएकाले मानबीय चाप घटाउनु पर्नेमा जोड दिए । नारायणी नदी बढी प्रदुषण भएका कारण घडियालले राप्तीमा बासस्थान बनाएको भन्दै उनले नदीसंरक्षणमा ध्यान दिनुपर्ने बताए । कार्यक्रममा लायन्स क्लव अफ कुमरोजका अध्यक्ष कुँवरले मकवानपुर देखि बगेर आउने सिसा र प्लाष्टिकजन्य फोहोरका कारण राप्ती प्रदुषण भएको बताए । नदी संरक्षणबारे जनचेतनाको आवश्यकता रहेको भन्दै उनले सचेतनाको लागि पूर्वक्षेत्रमा पहिलोपटक राप्ती नदी सरसफाई सुरु गरिएको बताए । कार्यक्रममा खैरहनी वडा नं १२ का निर्वतमान वडाध्यक्ष टीकाराम तिमिल्सिनाले समेत मन्तव्य राखेका थिए । कार्यक्रम संयोजक नितिन बस्नेतले सञ्चालन गरेको कार्यक्रममा लियो क्लव अफ चितवन पर्साका अध्यक्ष अमृत श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा सहभागीहरुले दराई बोटे ताल नजिक रहेको जिन्दगानीघाट देखि सौराहा सम्म सरसफाई गरेको बुढिराप्ती उपभोक्ता समितिका सचिव इश्वरीराज पाठकले जानकारी दिए । सहभागीहरुले नदी र नदी आसपासको क्षेत्रमा रहेका सिसा र प्लाष्टिकजन्य फोहोर संकलन गरी व्यवस्थापन गरेको उनले जानकारी दिए । सो कार्यमा नेपाली सेनाका मेजर सन्तोष ढुंगेल सहित सेना, क्लवका पदाधिकारी तथा सदस्यहरु तथा संरक्षणकर्मीहरुको सहभागिता रहेको थियो । नदी सरसफाईको लागि डुंगा प्रयोग गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर