चितवन, असोज ९–अनुप पौडेल

चितवनका थारू समुदायले आज यमोसा (पितृ औँसी) पर्व मनाउँदैछन् । सोह्रश्राद्धको अन्तिम दिन दिवङ्गत भएका आफन्त तथा पितृहरूको सम्झनामा यस पर्व मनाउने गरिन्छ । पूर्वी चितवन, पश्चिम चितवन र माडीमा थारू समुदायको बाक्लो बसोबास छ ।

यमोसा पर्व दुई दिनसम्म मनाइने  चितवन रत्ननगर -०३, निवासी  अमित चौधरीले जानकारी द्एि । सोह्रश्राद्ध सकिने औँसीको दिनमा थारू समुदायले यमोसा मनाउने उनले बताए । यमोसा पर्वको अघिल्लो दिन पर्वका लागि तयारी गरिन्छ । थारू समुदायका मानिस अघिल्लो दिनलाई मछुवारी भन्छन् । यस दिन व्यक्तिगत वा सामूहिकरूपमा खोलानाला, नदी, ताल, पोखरी आदिमा माछा मार्ने र गाउँघरमा खसीबोका काट्ने चलन रहेको  चौधरीले बताए । यमोसामा चाहिने माछा अघिल्लो दिन नै मार्ने चलन छ ।

दोस्रो दिन अर्थात् यमोसाको दिन बिहानै पुरुष आफूले देखेका दाभी (सिरु) काटेर ल्याउँछन् । त्यसलाई केलाएर करिब एक हात लामो कुचो बनाउँछन् । कुचोलाई धोई पखालेर घर अगाडि गाईको गोबरले लिपपोत गरी पिर्का वा कुर्सीमा उक्त सिरुको मुठा राखी पितृ स्थापना (पहुनी बेठोइ) गरिन्छ ।

हुनीलाई विभिन्न थरिका फूलहरूले सिङ्गारिन्छ । घाम नलागोस् भनी छाता वा छतिया ओढाइन्छ । पहुनीको अगाडि ल्वाङ, सुकमेल, पान, सुपारी, सुर्ती, चुरोट, रक्सी र पानी राखिन्छ । त्यस दिन बिहानै बालबच्चादेखि बूढाबूढी सबैजना नुहाई कुशपानीले पितृगणलाई तर्पण गरिन्छ । त्यसपछि गच्छेअनुसार नयाँ कपडा वा सफा कपडा लगाएर पहुनीको अगाडि बसेर प्रत्येकले रक्सी र पानीको केही थोपा चढाउने (छाकी चढोइ) गरिन्छ । यदि त्यस वर्षमा परिवारका कुनै सदस्यको मृत्यु भएको छ भने यमोसाकै दिन बोका काटेर रगत चढाउने प्रचलन रहेको छ ।

छाकी चढाइसकेपछि मात्र खानपिन सुरु हुन्छ । सर्वप्रथम छोरी, ज्वाइँ वा कुनै पाहुना बोलाइ खातिरदारीकासाथ चौरासी व्यञ्जन खुवाइन्छ । यसरी पाहुनालाई खुवाउनुलाई ‘पितरी बेठोइ’ भनिन्छ । पाहुनालाई खुवाइसकेपछि मात्र आफूले खाने गरिन्छ । खानपिनपछि पाहुनाको कपालमा तेल लगाइ काइँयोले कोरिदिने र फूल सिउरीदिने चलन छ । त्यसपछि नाङ्लो वा बेनामा पानी राखी पाहुनालाई छम्केर शीतलता प्रदान गरिन्छ । त्यसलाई ‘पितृपित्राइन बिदाइ’ भनिन्छ । उक्त दिन घरमा जो कोही आए पनि पाहुना नै भनिन्छ र पाहुनालाई खुवाएरै पठाइन्छ । यमोसाको दिन पाहुनालाई पितृगणको रूपमा हेरिन्छ । यसरी खानपिन दिनभरि नै चलिरहन्छ । यस्तै यमोसकै दिन गाउँका सबै जना एकै ठाउँमा भेला भइ पिङ खेलेर (बरहा झुलके) रमाइलो गरिन्छ । पहिले पहिले एउटै रुखमा पाँच– छवटा पिङ लगाइन्थ्यो । यस्तै युवाहरूले साँझपख गाउँको बाटोमा ‘म्वार्हा’ गाड्छन् र ठूलाबडाले त्यसलाई उखेल्ने प्रयास गर्छन् ।

बेलुकीपख बालबालिका तथा युवायुवतीहरू समूह–समूहमा मिलेर घर–घरमा ‘यमोसा’ खान जान्छन् । हरेक घरमा विभिन्न किसिमका अनेकौँ परम्परागत गीत गाउँदै यमोसा खान्छन् । पछिल्लो समय मौलिक थारू लोकगीत, ती म्वार्हा र बरहा, पितरी र पितृपत्रायन, ती पहुनी र छाकी सबै लोप हुन थालेको छ । चितवन र नवलपरासी दुई जिल्लामा थारूको जनसङ्ख्या करिब दुई लाख हाराहारीमा छ । यसै पर्वको अवसरमा पूर्वीचितवनको रत्ननगर नगरपालिकाले सार्वजनिक बिदासमेत दिएको छ ।

चितवनका मूल आदिवासी थारू समुदायले सांस्कृतिक र धार्मिकरूपमा मनाउँदै आएको मौलिक पर्व यमोसा अर्थात् पितृऔँसी लोप हुने अवस्थामा पुगेकाले यो पर्वलाई संरक्षण र प्रवद्र्धन गर्नका अभियानसमेत थालिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर