
याम्दी पुल वारि धेरैले भेडाच्यांग्रा बेच्न थालिसकेका छन् । हेमजा र याम्दी क्षेत्रमा हिमाली जिल्ला मुस्ताङ, हुम्ला, मुगु, डोल्पा, बझाङबाट बर्सेनी ल्याएर विक्रि हुन्छन् । मुस्ताङबाट झारिएका भेडा च्याङ्ग्रा आज आइपुग्छन् । देशका धेरै जिल्लाबाट भेडा च्याङ्ग्रा ल्याइए पनि वर्षेनी हुने मुल्य बृद्धिका कारण अधिकांश खरिद नगरी फर्किने गरेका छन् ।
बझाङबाट करिब २ सय ५० भेडा च्याङ्ग्रा पोखरा झारेका राजेन्द्रबहादुर थामी रोज्जा च्यांग्राको मूल्य बढीमा ५० हजार रुपैयाँसम्म पर्ने बताउँछन् । बझाङमा खरिद दर नै बढी भएकाले मुल्य बढेको उनले सुनाए । ‘बझाङमै किन्दा एउटाको ४० हजार प¥यो । यहाँ ल्याउँदा महँगो त हुने नै भयो,’ उनले भने, ‘२ महिना अघिदेखि जम्मा गर्न प¥यो । पालिकालाई कर तिर्न प¥यो । अनि ल्याउँदा ट्रकको भाडा उस्तै महंगो छ ।’
गत वर्ष ३५ देखि ४७ हजार रुपैयाँसम्ममा च्याङ्ग्रा बिक्री भएकोमा अहिले सामान्य ३२ हजारदेखि ५० हजारसम्म मुल्य पर्छ । दसैंमा मासुका लागि पोखरामा खसीबोका पनि उत्तिकै बिक्री हुन्छन् । भेडा च्याङ्ग्रा किन्न नसक्नेहरु खसी बोकामै रमाउँछन् । दसैंको बेलामा बढी मासु खपत हुने पोखरामा विशेषगरी दाङ, नवलपुर, तनहुँ, पाल्पा र स्याङ्जाबाट खसीबोका ल्याइने गरिन्छ ।