एजेन्डामा कुरा मिले रवि लामिछाने नेतृत्वको पार्टी सरकारमा जान तयार

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा सहभागी हुने भएको छ ।
पहिलोपटक निर्वाचनमा भाग लिएर २० सिटसहित संसद् प्रवेश गरेको पार्टीले दुवै गठबन्धनका नेताहरुसँग अनौपचारिक छलफल गरेसँगै सरकारमा सहभागी हुने देखिएको हो ।
जनताका पक्षमा काम गर्ने गरी सरकारमा सहभागी हुन तयार भएको रास्वपाका महामन्त्रीसमेत रहनुभएका प्रवक्ता डा. मुकुल ढकालले बताउनुभयो । विदेशमा बस्ने नेपालीलाई भोट हाल्ने अधिकार, भ्रष्टाचार नियन्त्रण र विश्वविद्यालय क्षेत्रको सुधारसहितका एजेन्डामा कुरा मिले सरकारमा सहभागी हुन तयार भएको बताइएको छ । आफुहरु मन्त्रीमा होइन एजेन्डामा भागबण्डा हुनेगरी कुरा मिल्यो भने सरकारमा सहभागी हुने ढकालको भनाई छ । एक सय वटा कानुन बनाउँदा रास्वपाको प्रस्तावमा पाँचवटा कानुन आउनुपर्ने र मन्त्रिपरिषद्ले पारित गर्ने सय एजेन्डामध्ये १० वटा एजेन्डा रास्वपाको प्रस्ताव अनुरुप हुने सहमति भएमा जनताको पक्षमा काम गर्नेगरी रास्वपा सरकारमा सहभागी हुने तयारी गरेको जनाइएको छ ।
नयाँ सरकार गठनका क्रममा माओवादी एमाले होस् वा कांग्रेस माओवादी वा कांग्रेस एमाले र मधेस केन्द्रित जुनसुकै दलकाबीच पनि सरकार गठनअघि हुने सहमति सम्झौतामा जनताकै लागि काम गर्ने गरी सम्झौता गर्ने र त्यसलाई सार्वजनिक गरेर सरकारमा सहकार्यको औचित्व पुष्टि गरिने उनीहरुको धारणा छ ।
अब उधारो सम्झौता गरेर जनतालाई ढाँट्ने काम बन्द हुनुपर्ने भन्दै दलहरुका घोषणपत्रका राम्रा पक्ष कार्यान्वयनका लागि नियम र संरचना पनि अघि बढाउने गरी मात्र सरकारमा सहभागी हुने ढकालले बताउनुभयो ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.