चितवनको ढुङ्ग्रे खोलामा तटबन्धको काम सुरु

चितवनको ढुङ्ग्रे खोलामा तटबन्ध निर्माण थालिएको छ । वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासको सहयोगमा खैरहनी नगरपालिकाको ढुङ्ग्रे खोलामा तटबन्धको काम सुरु भएको हो ।
हिजो बुधवार दूतावासका महावाणिज्यदूत नितेश कुमार र खैरहनी नगरपालिकाका नगर प्रमुख शशीकुमार खनियाँले संयुक्तरुपमा तटबन्धनको शिलान्यास गर्नुभयो । सो अवसरमा महावाणिज्यदूत कुमारले भारत र नेपालको सांस्कृतिक, व्यापारिक र आर्थिकसँगै पारिवारिक सम्बन्ध रहेको भन्दै त्यसलाई अगाडि बढाउन एकापसमा सहकार्य गर्दै आएको बताउनुभयो ।
भारतले चितवनमा नौवटा योजनाका लागि लगानी गरिसकेको छ । यो खैरहनीमा दोस्रो लगानी भएको बताइएको छ । तटबन्धका लागि समय धेरै बाँकी नरहेकाले अब कामलाई तीव्र गतिमा लैजान महावाणिज्यदूत कुमारले आग्रह गर्नुभयो ।
त्यस्तै नगर प्रमुख खनियाँले नगरपालिकाले तटबन्धको कामलाई प्राथमिकता दिएर काम गरिरहेको बताउनुभयो । काम समयमै सम्पन्न गर्न नगरपालिका प्रतिबद्ध रहेको जनाइएको छ । खैरहनी नगरपालिका–७ र १० को सीमा भएर बग्ने सो खोलामा रु चार करोड पाँच लाख ९८ हजारको लागतमा तटबन्ध निर्माण सुरु भएको हो । कूल बजेटमध्ये ७५ प्रतिशत दूतावास तथा २५ प्रतिशत नगरपालिकाको रहेको छ । सुल्तनास्थित ढुङ्ग्रे खोलामा रहेको पुलभन्दा पश्चिततर्फ दुई सय मिटर तथा पुलभन्दा माथि पूर्वपट्टि एक हजार नौ सय २० मिटर तटबन्ध निर्माण गरिनेछ ।
उक्त तटबन्धको काम पन्ध्र महिनाभित्र सम्पन्न गर्ने गरी गत वैशाखमा सम्झौता भएको थियो । वैशाखमा सुरु हुनुपर्ने काम स्थानीय तह निर्वाचन तथा मङ्सिरमा भएको संघ र प्रदेशको निर्वाचनका कारण ढिला भएको जनाइएको छ ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.