मानव बेचबिखनविरुद्ध कार्यरत संस्था माइती नेपाल वीरगन्ज आवधिक गृहले सन् २०२२ डिसेम्बर २९ बिहीबारसम्ममा भारतबाट ५० महिला तथा बालबालिकाको उद्धार गरेको छ । भारतबाट उद्धार गरी ल्याइएकामध्ये डेढ दर्जन महिला भारतको छौडादानो क्षेत्रमा सञ्चालित अर्केस्ट्रा नृत्य समूहहरूमा जोखिमपूर्ण रुपमा काम गरी बसेका नेपाली चेलीहरू रहेका गृहकी प्रमुख गोमा पौडेलले बताउनुभयो ।
त्यसैगरी, बालमजदुरी प्रयोजनका लागि दलालहरुबाट भारत लगिएका एक दर्जन बालकहरूको पनि मुम्बईबाट उद्धार गरी नेपाल ल्याइएको छ । यस अवधिमा दुई सय ३५ चेलीबेटी तथा बालबालिकाको आन्तरिक रुपमा उद्धार गरिएको छ । तीमध्ये अधिकांश जोखिमपूर्ण रुपमा दलालको प्रलोभनमा परी भारत जान लागेका चेलीबेटीहरू हुन् । यसबाहेक प्रहरीले विभिन्न घटनासँग सम्बन्धित महिला तथा बालबालिकाहरूलाई पनि गृहमा आश्रयका लागि ल्याएर जिम्मा लगाएकाहरू पनि रहेको बताइएको छ ।
एक वर्षको अवधिमा वीरगन्जस्थित नेपाल–भारत सीमाबाट उद्धार गरी सात चेलीबेटीलाई सिधै घर फिर्ता गरिएको छ । गृहले उद्धार गरेकामध्ये दुईसय ५५ महिला तथा बालबालिकालाई उनीहरूको पारिवारिक पुनर्मिलनसमेत गराइएको छ ।
एक वर्षको अवधिमा ४६ महिला तथा बालबालिका खोजतलासको उजुरी गृहमा परेपछि ३२ जनालाई फेला पार्न सफलतासमेत मिलेको प्रमुख पौडेलको भनाई छ । यस अवधिमा गृहले एकजनाविरुद्ध जिल्ला अदालतमा प्रहरीमार्फत मानव बेचबिखनविरुद्धको मुद्दा दर्ता गराएको छ । उक्त मुद्दामा ती पिडकले सजायसमेत पाइसकेका छन् ।
त्यसैगरी, १० पीडितको हकमा १६ पिडकविरुद्ध जबरजस्ती करणीको मुद्दा दर्ता गराएको र ती मुद्दा विचाराधीन रहेको बताइएको छ । गृहमा यस अवधिमा घरेलु÷लैंगिक हिंसामा २९ वटा निवेदन परेकोमा २० निवेदनको समस्या समाधान भएको र सात समस्यालाई प्रहरीलगायत अन्य निकायमा रिफर गरिएको जनाइएको छ ।