सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सांसदको उम्मेदवार नै बन्न अयोग्य भएको ठहर गरेर उहाँको पद खारेज भएपछि अहिले चितवन क्षेत्र न २ मा प्रतिनिधिसभा सदस्य पद रिक्त छ । लामिछानेको पद खोरेज भएसँगै चितवन क्षेत्र न २ मा उपनिर्वाचनबारे बहस चलिरहेकै बेला गत मंसिरको निर्वाचनमा दोस्रो हुनुभएका नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठले आफूलाई स्वतः विजयी भएको घोषणा गर्न माग गर्दै निवेदन दिन निर्वाचन आयोगमा पुग्नुभएको छ ।
यसबारे उहाँँले आजै दिउँसो २ बजे हिमालय होटेलमा पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ ।
लामिछानेले कांग्रेसका नेता एवम् तत्कालीन राज्यमन्त्री श्रेष्ठ र नेकपा एमालेका नेता कृष्णभक्त पोखरेललाई तेब्बर मतान्तरले पराजित गर्नुभएको थियो । कांग्रेसका श्रेष्ठ लामिछानेसँग ३४ हजार तीनसय १२ मतले पराजित हुनुभएको थियो ।
पाँच दलीय गठबन्धन साझा उम्मेदवार श्रेष्ठले जम्मा १४ हजार नौसय ८८ मत मात्र प्राप्त गर्नुभएको थियो । तर, लामिछाने नागरिकता सम्बन्धी मुद्दाबारे सर्वोच्च अदालतको फैसलाले ७२ दिनमै पदमुक्त हुनुभएको थियो । यता लामिछानेको रास्वपाले भने तत्काल सो निर्वाचन क्षेत्रमा उपनिर्वाचन गर्न माग गरेको छ । हिजो शनिबार राति बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठकले उपनिर्वाचन छिटो भन्दा छिटो गर्न माग गरेको थियो ।