गैँडाको खाग बिक्री गर्ने चितवनका छ सहित १५ जना पक्राउ

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गैँडाको चोरी शिकारमा संलग्न १५ जनाको टोलीलाई पक्राउ गरेको छ । लामो समय देखि गैँडा शिकारमा संलग्न रहँदै आएका टोलीलाई प्रहरीले विभिन्न मितिमा पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो ।
ब्युरोले अपरेसन ‘रुट टु रुट’ चलाएर प्रहरीले यी शिकारीलाई पक्राउ गरेको हो । लामो समयदेखि काठमाडौँ र अन्य क्षेत्रमा रहेर गैँडाको खाग बिक्रीमा संलग्न रहँदै आएका १५ जनालाई पक्राउ गरी कारबाही अघि बढाइएको ब्यूरोका प्रवक्ता सञ्जयसिंह थापाले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा झापाका इन्द्रमणि आचार्य, बाँकेकी जमुनाकुमारी शर्मा, पाल्पाका बाबुलाल भट्टराई, कैलालीका गणेश भनिने गजाधर सापकोटा, प्रताप चौधरी, ललितपुरका डम्बरकुमार आले मगर, गोरखाका दानबहादुर राना, स्याङ्जाका निर्मल शाही, हरिमाया राना, चितवनका सम्झना चेपाङ, राजु भनिने सोमबहादुर चेपाङ, तुलसी चेपाङ र वीरमान बाइबा रहेका छन् ।

सीआईबीले चितवनबाट राधाकृष्ण चेपाङ र आइतबहादुर तामाङलाई पनि पक्राउ गरेको छ । गत पुष १९ गते प्रहरीले काठमाडौं–७, सरस्वतीनगरमा गैँडाको खाग किनबेच हुन लागेको सूचना पाएको थियो । त्यही सूचनाको आधारमा पुगेको टोलीले इन्द्रमणि र जमुनाकुमारीलाई पाँचसय २२ ग्राम तौलको खागसहित समातेको थियो । त्यस बेला उनीहरूलाई खागसहित डिभिजन वन कार्यालय, हात्तीसार बुझाएको थियो । त्यसमाथि विस्तृत अनुसन्धान गर्दै जाँदा गिरोह नै समातिएको व्युरोले विज्ञप्ति प्रकाशित गरी जानकारी गराएको छ । पक्राउ परेकाहरूमाथि अनुसन्धान गर्ने क्रममा सोमबहादुर चेपाङ सहितको टोलीले भरतपुरको नवजागृति सामुदायिक वन उपभोक्ता समितिको सीमामा पर्ने खगेडी खोला वन क्षेत्रमा गैँडा मारेर खाग बिक्री गर्न पठाएको खुलेको छ ।
चितवनबाट मोटरसाइकलमा मुग्लिङ हुँदै काठमाडौँसम्म खाग लगेर लाखौँ रुपैयाँमा बिक्री गर्ने गरेको समेत प्रहरीले जनाएको छ ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.