राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन–२ मा उपनिर्वाचनको मिति छिटो तोक्न माग गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आइतबार भएको सत्तारुढ राजनीतिक दलका नेताहरूको बैठकमा लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचन्ड)सँग चितवनमा निर्वाचन छिटो हुनुपर्ने माग गर्नुभएको हो ।
उक्त जवाफमा प्रधानमन्त्री दाहालले निर्वाचन आयोगसँग छलफल गरिसकेको र चाँडै निर्णय हुने भनेर आश्वस्त पार्नुभएको थियो ।
चितवन २ बाट गत मंसिर ४ को निर्वाचनमा रास्वपाका लामिछाने निर्वाचित हुनुभएको थियो ।उहाँको सांसद बन्ने योग्यतालाई लिएर सर्वोच्च अदालतमा मुद्दा परेको थियो । अमेरिकी नागरिक बनेपछि निष्क्रिय भएको तर त्यो नागरिकता पुनः प्राप्तिको प्रक्रियामा नगएको भन्दै सर्वोच्चले उहाँको पद खारेज गरिदिएको थियो । लामिछानेको पद खारेज गरिदिएपछि चितवन २ मा उपनिर्वाचन गर्नुपर्ने अवस्था छ । पद खारेजीपछि लामिछानेले प्रक्रिया पुरा गरेर नेपाली नागरिकता प्राप्त गरिसक्नुभएको छ ।
चितवन–२ को उपनिर्वाचनको मिति छिटो तोक्न लामिछानेको माग