पूर्वी चितवनको रत्ननगर नगरपालिका–९ लालपर्सा नजिकै गैंडाको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सोहि ठाउँका करिब ६० वर्षीय चन्द्र बहादुर तामाङ रहेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।
आज बिहान करिब ५ः४५ बजेको समयमा मर्निङ वाकमा निस्किनुभएका तामाङलाई गैंडाले आक्रमण गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेकोे चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । मिलिजुली सामुदायिक बन क्षेत्र अन्तर्गतपर्ने मोहना चोक देखि लालपर्सा जाने बाटोको बिच कल्भर्ट छेउमा गैडाले आक्रमण गरेर मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको हो । मृतकको शवलाई पोष्टमार्टमको लागि भरतपुर अस्पतालको शव गृहमा राखिएको छ । चालु आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट जिल्लामा पाँच जनाले ज्यान गुमाएका छन् ।
रत्ननगरमा गैंडाको आक्रमणबाट ६० वर्षीय तामाङको मृत्यु