सरकारले ‘बिहेबारी २० वर्ष पारी’ भन्ने नारा कार्यान्वयनमा ल्याए पनि सानो उमेरमै आमा बन्ने क्रम भने रोकिएको छैन । स्वास्थ्य कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षको छ महिनामा तीन हजार ६९ जना २० वर्ष भन्दा कम उमेरका महिला आमा बनेका छन् । उनीहरुमध्ये दुई हजार छ सय ६३ जनाले दक्ष प्रसूतिकर्मीबाट सेवा लिएका छन् भने तीन सय ८६ जनाले दक्ष स्वास्थ्यकर्मीबाट सेवा लिएका छन् ।
यस्तै अन्य स्वास्थ्यकर्मीबाट सेवा लिने १८ जना र दुई जनाले घरमानै नवजात शिशु जन्माएका हुन् । कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार यसै वर्षबाट राखिएको उक्त तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको हालसम्म २० वर्ष माथिका छ हजार तीन सय ८९ जनाले शिशु जन्माएका छन् । उनीहरुमध्ये दुई हजार एक सय ८६ जनाले दक्ष प्रसूतिकर्मीबाट, चार हजार सात सय ४३ जनाले दक्ष स्वास्थ्यकर्मीबाट, २१ जनाले अन्य स्वास्थ्यकर्मीबाट र ३९ जनाले घरमानै बच्चा जन्माएको स्वास्थ्य कार्यालयले जनाएको छ ।