नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले आज बुधवार राजीनामा दिनुभएको छ ।
उमेर झुक्याएर सेवामा बहाल रहेको खुलेपछि उहाँले प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखा पुगेर राजीनामा दिएको स्रोतले जनाएको छ । हाल सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख रहनुभएका सिंहको नागरिकता र प्रहरी सिटरोलमा रहेको उमेर फरक–फरक भएको भेटिएपछि उहाँमाथि अनुसन्धान सुरु गरिएको थियो । २०५१ चैत ५ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गर्नुभएका सिंह नागरिकता विवाद नआएको अवस्थामा २०८१ साल चैत ५ सम्म प्रहरी सेवामा रहनुहुन्थ्यो । उहाँका ब्याजीमध्येबाट आगामी चैत ११ पछि नेतृत्वमा जान लागेको अवस्थामा त्यसअघि नै नागरिकता विवादमा मुछिएपछि राजीनामा दिनुभएको हो ।
प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका दाबेदार रहनुभएका सिंह त्यसपछि भावी महानिरीक्षक बन्ने दौडमा हुनुहुन्थ्यो । त्यसपछि नेतृत्वमा पुग्नका लागि पहिलो नम्बरमा एआईजी बढुवा हुन चाहनुभएका डीआईजी सिंहमाथि उमेर सच्याएर प्रहरी सेवामा प्रवेश गरेको आरोप लागेको हो । उमेर झुक्याएको भन्दै डीआईजी सिंहविरुद्ध गत बुधबार बागबजारका विश्वप्रकाश भेटवालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिनुभएको थियो । अख्तियारमा परेको उजुरीको बोधार्थ मुख्यसचिव, गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई पनि दिइएको थियो । त्यसपछि सिंहको सिटरोल र नागरिकतामा रहेको जन्ममिति खोजबिन गर्दा उमेर फरक–फरक भेटिएको हो ।
उमेर विवादमा परेपछि डीआईजी सिंहले दिए राजीनामा