नेकपा एमाले सरकारबाट बाहिरिने, समर्थन पनि फिर्ता

नेकपा एमाले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिएको छ । आज सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गरेको हो
प्रचण्ड नेतृत्वको सरकारमा एमालेका आठ मन्त्री छन् ।सरकार गठनका क्रममा पुष १० मा भएको सहमति विपरीत माओवादी केन्द्रले राष्ट्रपतिमा नेपाली कांग्रेसलाई समर्थन गरेसँगै सत्ता गठबन्धन भत्किसकेको थियो । तर एमालेले आफू पुष १०को सहमति कार्यान्वयनको पक्षमा रहेको भन्दै फागनु २५ मा हुने राष्ट्रपति निर्वाचनसम्म पर्खिने निर्णय गरेको थियो । तर, प्रधानमन्त्री प्रचण्डले परराष्ट्रमन्त्री विमला राई पौडेलको जेनेभा भ्रमण रोकेपछि एमाले रुष्ट बनेको छ ।नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पुस १० गते भएको सहमतिअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नगएको र प्रधानमन्त्री प्रचण्डले नेकपा एमालेलाई सरकारबाट बाहिरिन दबाब दिएको बताउनु भयो । उहाँले प्रधानमन्त्रीले नेकपा एमाले सरकारबाट नबाहिरिए तत्काल मन्त्रीहरुलाई बर्खास्त गर्ने वा विनाविभागीय मन्त्री बनाउनेसम्मको चेतावनी दिएको आरोप लगाउनु भयो ।
उहाँले प्रधानमन्त्री प्रचण्डले जेनेभा भ्रमणमा जान लाग्नुभएकी परराष्ट्रमन्त्री पौड्याललाई अन्तिम समयमा रोकेर अपरिपक्वता देखाएको र नेकपा एमालेमाथि प्रतिरोध साँधेको आरोप लगाउनु भयो । उहाँले अन्तिम समयमा राष्ट्रको प्रतिनिधित्व गर्नबाट रोक्नुले राष्ट्रको इज्जतमाथि नै प्रतिकूल असर परेको दाबी गर्नुभयो।
पौडेलले भन्नुभयो, ‘आजको बैठकले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट अलग हुने निर्णय गरेको छ । राष्ट्रपतिमा भएको सहमति कार्यान्यन गर्नुभएन र अरु दलको समर्थनमा कांग्रेसको उम्मेदवारलाई सघाउने निर्णय गर्नुभयो । तर, पनि हामीले देशको अवस्थालाई विश्लेषण गरेर राष्ट्रपतिमा सहमति नभए पनि देशको परिस्थिति हेरेर अघि बढिरहेका थियौँ । तर, प्रधानमन्त्रीले पछिल्लो समय नेकपा एमालेमाथि गर्नुभएको व्यवहारबाट हामी सरकारमा बस्न सकेनौँ ।’
प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा भएको सहमति कार्यान्वयन नगरेर देशमा राजनीतिक स्थिरता नचाहेको समेत पौडेलको आरोप छ । यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिइसकेको छ ।
गत पुस १० गते एमालेसहित सात दलका सांसदले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेर बहुमत जुटाएका थिए । त्यस बेला एमालेले माओवादीलाई सघाएबापत राष्ट्रपति एमालेले पाउने मौखिम सहमति भएको थियो । तर त्यो सहमति विपरीत प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेससहितको आठ दलीय मोर्चा बनाउँदै राष्ट्रपतिमा कांग्रेसका रामचन्द्र पौडेललाई प्रस्ताव र समर्थन गर्नुभएपछि एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

By रेडियो अर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.