पूर्वी चितवनको माडी नगरपालिका वार्ड नं. ८, कान्तिपुर गाउँस्थित सूर्योदय कृषि सहकारी संस्थाले २०७५ देखि सुरु भएको सामूहिक खेती अहिलेसम्म आइपुग्दा असफलतातिर उन्मूख भएको छ । बागमती प्रदेशको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको सामूहिक खेती प्रवद्र्धन कार्यक्रमअन्तर्गर्त माडी नगरपालिकामा चक्लाबन्दीमा आधारित सामूहिक खेती सुरू भएको थियो । राज्यबाट लाखौं रकम अनुदान लिएर पनि सहकारीले उद्देश्यअनुरुप काम गर्न नसकेको र अनुदानमा पाएका श्रोतसाधनहरुसमेत अलपत्र पारेको आरोप लगाइएको छ ।
चक्लाबन्दीमा आधारित रहेर धेरै उत्पादन लिन सकिने भएकोले सामूहिक खेती गर्न कृषि ज्ञानकेन्द्र चितवनले कम्बाइण्ड हार्बेस्टर, ट्रयाक्टर, मिनि ट्रेलर, कल्टिभेटर, कर्नट्रेलर, थ्रेसरलगायतका कृषि उपकरणहरु दिएको उपलब्ध गराएको भएपनि तीे उपकरणहरु अहिले खिया लागेर काम नलाग्ने अवस्थामा पुगेका छन् । पहिलो वर्ष प्रयोगमा ल्याइएका ती उपकरण त्यसपछि प्रयोगमा नल्याइएको बताइएको छ ।
कृषि पर्यटन (फार्म स्टे)का रुपमा सो गाउँमा ४६ वटा होमस्टे सञ्चालन गर्ने योजना रहेपनि होमस्टे घरहरुको निर्माण पूरा हुन सकेको छैन । सामुहिक माछापालनका लागि २० वटा पोखरी खनिएको भएपनि आधाजसो पोखरी सुकेका छन् तर समूहले ती पोखरीको मर्मतमा ध्यान दिएको छैन । चक्लाबन्दी गरिएको जमिन कृषि कार्यमा पूर्णरुपले उपयोगमा नल्याउँदा गौचरनमा परिणत भएको स्थानीयले गुनासो गरेका छन् ।