राष्ट्रपति तथा उपराष्ट्रपति चुनावका लागि भोलि १७ गते बुधवारदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी निर्वाचन आयोगले यही फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गर्ने निर्णय गरेको हो ।
फागुन २५ गते राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपति चयनका लागि चुनाव हुँदैछ । यो आचारसंहिता नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संघ, प्रदेश र पालिकाका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय तथा कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भातृ सङ्गठन, उम्मेदवार तथा उम्मेदवारको प्रतिनिधि, राजनीतिक दल तथा उम्मेदवारको मतदान एवम् मतगणना प्रतिनिधि, सार्वजनिक पद धारण गरेको व्यक्ति, सञ्चार प्रतिष्ठान, त्यसका कर्मचारी तथा सञ्चारकर्मी र मतदातालाई लागू हुनेछ ।
वैधानिक व्यवस्थामा राष्ट्रपति तथा उपराष्ट्रपति गरी दुवै पदको निर्वाचनको लागि सङ्घीय संसदमा अहिले कायम रहेका तीनसय ३२ र प्रदेश सभाका पाँचसय ५० गरी कुल आठसय ८२ मतदाता रहेका छन् । राष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना भई फागुन १३ गते उम्मेदवारीको मनोनयनपत्र समेत दर्ता भइसकेको छ ।
आज दिउँसो ४ बजेसम्म उम्मेदवारले मनोनयन फिर्ता लिन सक्नेछन् । आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने निर्वाचन अकिृतको कार्यालयले जनाएको छ । आयोगले निर्वाचन आचारसंहिताको पालना गर्न पनि सबै पक्षलाई आग्रह गरेको छ ।
राष्ट्रपति तथा उपराष्ट्रपति चुनावका लागि भोलिदेखि आचारसंहिता लागू हुने